काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आसन्न केन्द्रीय समिति बैठकको ‘एजेण्डा’माथि छलफल गरेको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमाथि छलफल भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
यही पुस २१ गतेदेखि बस्ने केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘पार्टी रुपान्तरण र पुनःनिर्माणको सङ्कल्पः आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गर्ने उनले बताए ।
बैठकमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गर्दै पार्टी रुपान्तरणका लागि मदन भण्डारी लोकमार्ग र हुलाकी राजमार्ग केन्द्रित छ महिने जनजागरण अभियान सञ्चालन गर्ने प्रस्ताव प्रस्तुत गरेका प्रवक्ता सापकोटाले जानकारी दिए ।
आजको बैठकले सरकार असफल भइसकेको र उल्टोबाटोमा हिँडिरहेको निष्कर्ष निकालेको पनि उनले जानकारी दिए। उनले सुशासनको विरुद्धमामा भ्रष्टाचार गर्नेहरू तथा बिचौलियाको संरक्षण गर्न सरकार लागिपरेको निष्कर्ष रहेको पनि बताए ।