काठमाडौं । सत्ताको बागडोर सम्हालिरहेको दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीबिच बिहीबार दुई संयोग जुर्यो ।
एक- दुवै दलको बैठक । बिहीबार एमालेको सचिवालय र माओवादीको केन्द्रको स्थायी कमिटी बैठक बस्यो । पार्टी फरक–फरक भएपनि एजेन्डा उही थियो– केन्द्रीय कमिटी/समिति बैठकको एजेन्डा तय गर्ने । यी दुवै पार्टीको केन्द्रीय कमिटी/समितिको बैठक पनि एकैदिन (पुस–२१)मा बस्दैछ ।
अर्को संयोग भने पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनले संक्रिया राजनीतिमा आएको संकेत दिए ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न उनकै निवास बुढानिलकण्ठ पुगे । करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको थियो ।
पछिल्लो समय राजनीतिमा सक्रियता बढाउँदै आएकी पूर्व राष्ट्रपति भण्डारीसँग एमाले अध्यक्ष समेत रहेका ओलीले पछिल्लो समसामयिक राजनीतिबारे छलफल गरेको बताइएको छ ।
यता, पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन भने माओवादी केन्द्रको स्थायी समिति बैठकमा उपस्थित हुन केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामै पुगे । प्रचण्डले उपाध्यक्ष बनाउन तयारी गरेको भनिएकै बेला उनी पार्टीको नियमित बैठकमा सहभागी हुँदै आएका छन् ।
एमालेमा विद्याको खोजी
देशको अभिभावकीय भूमिका निर्वाह गरिसकेका पूर्व राष्ट्रपति भण्डारी नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने कोसिसमा छन् । त्यसका लागि उचित वातावरण बनाउन उनी सार्वजनिक कार्यक्रमका साथै एमालेका विभिन्न संगठनका गतिविधिमा सहभागी हुँदै आएका छन् ।
केही समयअघि मात्रै उनी एमालेनिकट कर्मचारी सङ्गठनले काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि भए । सामाजिक र राजनीतिक भेटघाटमा सक्रिय पूर्व राष्ट्रपति भण्डारीले एमालेको राजनीतिमा फर्कने संकेत नयाँ भने होइन । सात वर्ष राष्ट्राध्यक्षको जिम्मेवारी निर्वाह गरेर दुई वर्षअघि बिदा हुँदै भण्डारीले सरकारी सुविधा नलिने घोषणा गरेर सक्रिय राजनीतिमा फर्किने संकेत दिएका थिए ।
२०७९ फागुन २८ मा शीतल निवासबाट बाहिरिएपछि उनी निजी निवासमा दैनिकजसो एमाले नेता कार्यकर्तासँगको भेटमा व्यस्त छन् । गत वैशाखमा नेकपाको हीरक महोत्सवमा नेकपा एमालेले भण्डारीलाई ‘गणतन्त्र गौरव’ पदकबाट सम्मान गरेपछि उनी सक्रिय राजनीतिमा आउने चर्चाले झनै व्यापकता पाउँदै आएको छ ।
त्यस्तै गत जेठ १६ र १७ गते भएको २३ जनवर्गीय संगठनको राष्ट्रिय महिला भेला पनि भण्डारीको प्रमुख आतिथ्यमा गरिएको थियो । गत असोज पाँच गते मदन भण्डारी फाउण्डेसको कार्यक्रममा त भण्डारीले २०८४ को चुनावबाट एमालेले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभा सभा अध्यक्ष सबै बनाउनुपर्ने समेत बताएका थिए ।
अध्यक्ष केपी शर्मा ओलीको चाहनाविपरीत एमालेकै एउटा समूहले पूर्व राष्ट्रपति भण्डारीलाई सक्रिय बनाइरहेको छ । ओलीका कदमलाई पार्टी पद्धतिभन्दा एकपक्षीय निर्देशनका रूपमा बुझ्ने गरेको एमालेमा एउटा तप्का पूर्व राष्ट्रपति भण्डारी पार्टीमा सक्रिय आगमनको प्रतीक्षामा छ ।
त्यसै पूर्व राष्ट्रपति भण्डारीलाई अघि सारेर एमालेभित्रको असन्तुष्टि साम्य पार्ने र अध्यक्ष ओलीलाई विश्वास नगर्ने अन्य कम्युनिस्ट घटकलाई एक ठाउँमा ल्याउने केही एमाले नेताहरूको चाहना छ । तर, एमालेमा आफ्नो विकल्प विद्या बन्ने डर ओलीमा छ ।
भण्डारी पुनः राजनीतिमा सक्रिय बन्न सक्ने पहिलो आधार मदन भण्डारी र जबजको विरासत भएको एमालेका थुप्रै नेता–कार्यकर्ता चर्चा गर्ने गरेका छन् । मदनले अगाडि सारेको जबजको सिद्धान्तको जगमा एमाले संसदीय राजनीतिमा ठूलो दलका रूपमा स्थापित भएकाले राष्ट्रपति भइसकेपछि पनि विरासतका रूपमा विद्यालाई प्रमुख नेतृत्व स्विकार्न र पार्टीलाई स्थापित गर्न सहज हुने बुझाइ एमालेको ठूलो पंक्तिमा छ ।
मदनको विचारलाई सामाजिक काम र विकासमार्फत जोड्न मदनकै नाममा फाउन्डेसन, प्रतिष्ठान, स्पोर्टस् एकेडेमी, स्वास्थ्य प्रतिष्ठान, प्राविधिक शिक्षालयदेखि विश्वविद्यालय स्थापना गर्नेसम्मको काम एमालेले गरेको छ ।
भण्डारी स्वयंले पनि जबजको माध्यमबाट अभियान चलाउन आग्रह गरिसकेका छन् । एमालेका प्रभावशाली नेताहरू विष्णु पौडेल, भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, गोकर्ण विष्टलगायतसँग पनि भण्डारीको व्यक्तिगत सम्बन्ध मानिन्छ ।
राष्ट्रपति हुँदा मुख्यमन्त्री, मन्त्री, सांसद, मनोनीत सांसद, संवैधानिक नियुक्तिदेखि पार्टीका मनोनीत केन्द्रीय सदस्यसम्म भण्डारीको कुरा सुन्नुपर्ने बाध्यतामा ओली पर्दै आएकाले उनी सक्रिय राजनीतिमा आउँदा शक्तिशाली नेताकै रूपमा स्थापित हुने केही एमालेजनको बुझाइ छ ।
राष्ट्रप्रमुखको भूमिका निर्वाह गरिसकेका व्यक्ति पार्टीको सक्रिय राजनीतिमा आउन हुने–नहुने विषयमा बहस भई नै रहेको समयमा कुनै न कुनै रूपमा एमालेबाट भण्डारीको राजनीतिक यात्रा अघि बढ्ने भने पक्काजस्तै भएको छ । तर, पार्टी र सत्ता दुवैमा आफ्नो वर्चस्व कायम राख्ने चाहना बोकेका ओली र उनको समर्थन पङ्क्तिलाई चिरेर पार्टीमा स्वीकार्यता स्थापित गर्न भने भण्डारीका लागि चुनौतीपूर्ण हुनेछ ।
पासाङको पुनरागमनले माओवादीमा तरङ्ग
माओवादी जनमुक्ति सेनाका पूर्वकमाण्डरसमेत रहेका पासाङ उपराष्ट्रपति पदमा करिब दुई कार्यकाल बिताएर पूर्ववत् पार्टीको सक्रिय राजनीतिमा फर्किने मनशायले पार्टी बैठकमा समेत सहभागी हुँदै आएका छन् ।
पासाङको पुनरागमनले माओवादीको आन्तरिक राजनीतिमा भने तरङ्ग आएको छ । माओवादी स्रोतका अनुसार पासाङलाई उपाध्यक्ष दिनेगरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक तयारी थाले पनि पुनले भने वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठभन्दा वरियतामा आफू माथि रहनुपर्ने माग गरेका छन् ।
यसअघि दुई पूर्व सभामुख कृष्णबहादु महरा र अग्नि सापकोटालाई पार्टीको उपाध्यक्ष बनाइएकोले संवैधानिक निकायमा ती भन्दा माथि रहेर उपराष्ट्रपति भइसकेको जिकिर गर्दै पासाङले वरिष्ठ उपाध्यक्षमा दाबी गरेको माओवादी स्रोतले बताएको छ ।
पूर्वउपराष्ट्रपति पासाङले वरिष्ठ उपाध्यक्षमा दाबी गरेपछि माओवादीका हालका पदाधिकारीहरू आफ्नो पद गुम्ने भयले सशङ्कित बनेका छन् । प्रचण्ड पनि पूर्वसहकर्मी र जनयुद्धका सारथि पासाङप्रति उदार सकारात्मक बनेकाले वरिष्ठ उपाध्यक्ष श्रेष्ठ भने असन्तुष्ट रहेको माओवादी स्रोतले बतायो ।
त्यसैले आफूलाई वरिष्ठ उपाध्यक्ष श्रेष्ठभन्दा वरियतामा माथि राख्नुपर्ने अडानमा उनी छन् । आफू वरिष्ठ उपाध्यक्ष भए पूर्वमाओवादीलाई एकतामा ल्याउन पनि पहल गर्ने भन्दै पासाङले प्रचण्डलाई आश्वस्त पार्ने प्रयत्न गरिरहेका छन् ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई दिइएको दोस्रो वरियताभन्दा आफू माथि रहनुपर्ने पासाङले दाबी गरेपछि माओवादीमा भने आन्तरिक किचलो बढेको छ ।
अहिले माओवादीमा वरियताक्रमका आधारमा अध्यक्ष प्रचण्ड पछि दोस्रोमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र त्यसपछि अर्का उपाध्यक्ष कृष्णबहादुर महरा रहेका छन् । उपाध्यक्ष महरा पछिल्लो समय पार्टी राजनीतिमा खासै सक्रिय छैनन् । सुन तस्करी लगायतका विभिन्न प्रकरणमा जोडिएपछि महरा पार्टीमा सक्रियता जनाएका छैनन् ।
आफ्नै पार्टी अध्यक्ष नेतृत्वको सरकारकै पालामा आफूलाई अपमानजनक ढंगले गिरफ्तारी गरिएको प्रति महरा नेतृत्वसँग रुष्ट रहेका छन् । प्रचण्डसँग असन्तुष्ट रहेका महरा त्यसयता पार्टीको पदाधिकारी, स्थायी समिति बैठक र प्रदेश परामर्श बैठकमा समेत सहभागी भएका छैनन् ।
औचित्यमाथि प्रश्न
ओली या प्रचण्डका आ–आफ्नै दाउ होलान् । लोकतन्त्रवादीका दृष्टिले हेर्दा राष्ट्रको उच्च भूमिकामा पुगिसकेको व्यक्ति पुनः राजनीतिमा फर्कनु शोभनीय हुँदैन । देश, जनता र दलका लागि नभई नहुने पात्र भएको भए बेग्लै कुरा, तत्तत् दलमा नेतृत्वको संकट समेत नपरेका बेला विद्या र नन्दबहादुरको राजनीतिक पुनरागमन उदेकलाग्दो हो ।
विद्या र नन्दबहादुरले अबको समय पुस्तक लेखन, सामाजिक सक्रियता र अन्य रचनात्मक काममा बिताउन सक्छन् । नेपालकै प्रथम महिला राष्ट्रपति बन्दाको गौरवलाई पुस्तकमा समेटेर भावी पुस्ताका लागि परिवर्तनको गौरव गाथा उनले दर्साउन सक्दछन् ।
नन्दबहादुरले पनि सशस्त्र विद्रोहको डेपुटी कमान्डरदेखि उपराष्ट्रपति बन्दासम्मको अनुभवलाई समेटेर सुन्दर पुस्तक तयार गर्न सक्छन्, जसले उनी आबद्ध पार्टीले भन्ने गरेको ‘क्रान्ति गौरव’ अझ उँचो बनाओस् ।
विद्या र नन्दबहादुरले रच्नुपर्ने इतिहास रचिसकेका छन् । देशले उनीहरूको सम्यक् भूमिकाबाट जे–जति लाभ लिनुपर्ने हो, लिइसकेको छ । देश र जनताका लागि उनीहरूले सक्ने गरिसके । अब केका लागि राजनीतिमा सक्रिय हुने ? यो गम्भीर प्रश्न उठेको छ ।