Logo
Logo

बझाङमा दुई छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको मृत्यु


315
Shares

बझाङ । बझाङका दुई छुट्टाछुट्टै स्थानमा भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । बिहीबार राति तलकोट गाउँपालिका–२ सुकगाडमा भएको दुर्घटनामा चालकसहित चार जनाको मृत्यु भएको छ भने अर्को स्थान कोटदेवलमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङकाका अनुसार सुकगाडमा से १ ज ८४३ नम्बरको जिप दुर्घटना हुँदा चालक केदारस्युँ गाउँपालिका –१ रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका–४ का ३६ वर्षीय बम बहादुर धामी, ७२ वर्षीया जोगेनी देवी धामी र मृतक बम बहादुर धामीकी छोरी पाँच वर्षीया आकृतीको मृत्यु भएको छ ।

चालकसहित तीन जनाको घटनास्थलमै र पाँच वर्षीया बालिकाको उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी निरीक्षक लोकेन्द्रसिं ठगुन्नाले बताए । बिहीबार राति साढे आठ बजेतिर तलकोट गाउँपालिकाबाट चैनपुरतिर आइरहेको उक्त जिप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

यस्तै, विहीबार राति नै करिब नौ बजेतिर सुदूरपश्चिम प्रदेश ०१–००१ ज १३९८ नम्बरको जिप बझाङको कोटदेवल भन्ने ठाउँमा दुर्घटना हुँदा ४२ वर्षीय जिप चालक धर्म थापाको मृत्यु भएको छ । चालक थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त जिप मष्टा गाउँपालिकाको भातेखोलाबाट रनाडा तर्फ जाँदै थियो ।

प्रतिक्रिया दिनुहोस्