काठमाडौं । नेपाल प्रहरीका ५ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालय अन्तर्गतको बढुवा सिफारिस समितिले बिहीबार रिक्त ५ डीआईजीका लागि ५ एसएसपीको नाम सिफारिस गरेको हो ।
जस अनुसार ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया सिफारिसमा परेका छन् ।
कार्की नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास कार्यालय नक्साल, भट्ट कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतमा कार्यरत छन् ।
त्यस्तै आचार्य लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं, पौडेल अख्तियार दुरुपयोग अनुुन्धान कार्याल काठमाडौं र थपलिया नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग वृत्ति विकास महाशाखा नक्सालमा कार्यरत छन् ।
एसएसपीको पहिलो नम्बरमा भए पनि मानव बेचविखन अनुसन्धान ब्यूरोका प्रमुख ओम बहादुर राना भने बढुवामा छुटेका छन् । राष्ट्रिय अनुसन्धान विभागबाट पछि नेपाल प्रहरीमा आएका राना विगतमा पटक–पटक कारबाहीमा परेका थिए । उनी २०६६ भदौ २१ गते कारबाहीमा परेका थिए । त्यतिबेला उनलाई २ वर्षका लागि बढुवा रोक्का गरिएको थियो ।
त्यसको दुई वर्षपछि फेरि कारबाहीमा परे । २०६८ मंसिरमा २ ग्रेड २ वर्षका लागि रोक्का गरिएको थियो । २०७८ असार १३ गते पनि उनलाई विभागीय कारबाही भएको थियो । रानाकै ब्याचीहरु भने यसअघि दुई चरणमा डीआईजी बढुवा भइसकेका छन् । आगामी चैतमा ती मध्ये केही एआईजी बन्नेछन् ।
एसएसपीमा अगाडी भए पनि विवादित भएकै कारण बढुवा समितिले उनलाई छुटाएर २०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका टोलीबाट क्रमशः बढुवा सिफारिस गरेको हो ।