Logo
Logo

देशभरको मौसम : पूर्वानुमान महाशाखा भन्छ, ‘तीन दिनसम्म वर्षा’


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २ असार । मनसुन सक्रिय भएकाले आगामी तीन दिन देशको अधिकांश स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी वायु सक्रिय भएकाले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मान्नधरले बताएकी छन् । उनका आनुसार उक्त प्रणालीको प्रभाव आज देशको पूर्वी तथा मध्य भूभागसम्म पर्नेछ भने बुधबारबाट पश्चिमी भूभागमा पनि यसको असर रहने बताइएको छ ।
हाल प्रदेश नं ५ का केही भूभाग गण्डकी प्रदेश, वाग्मती प्रदेश, प्रदेश नं २ र प्रदेश नं १ का धेरैजसो स्थानमा वर्षा भइरहेको छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।
भारी वर्षाबाट ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायातसमेत प्रभावित हुने सम्भावना रहेको हुनाले सबैले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । दिउँसो देशको प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली रही प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।
बिहीबार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमम वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्