- रमेश घिमिरे
स्वतन्त्र पत्रकार
काठमाडौं, २ असार । गत शनिबार नेपाली जनताको सार्वभौमसत्ता सम्पन्न प्रतिनिधि सभाले सन् १८१६ को सुगौली सन्धी द्वारा प्रदत्त नेपालको सम्पूर्ण भू–भागसहित नक्शा सर्वसम्मत रूपमा अभूतपूर्व राष्ट्रिय एकताका साथ नेपालको संविधानमा समाविष्ट गर्नाका निमित्त सर्वसम्मत रूपमा अनुमोदीत भएपश्चात नेपाल–भारत सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको छ ।
यसले के हिमाल, के पहाड़, के तराई नेपालका सम्पूर्ण जनता राष्ट्रियताको सवालमा एक छन् भनेर विश्वलाई बलियो सन्देश दिएको छ ।
यस नक्शाले भारतले लामो समयदेखि कब्जा जमाइराखेको कालापानी, लिपुलेख, लिम्पियाधुरासहितको नक्शा नेपालको संविधानमा समाविष्ट भएपछि नयाँदिल्ली तरंगीत हुन पुगेको छ ।
अब नेपाल सरकारको काँधमा भारतद्वारा अतिक्रमित ती भू–भागहरु आफ्नो अधिनमा ल्याउने गहन जिम्मेवारी थपिएको छ ।
यस सन्दर्भमा भारतको सत्ताधारी पार्टी भारतीय जनता पार्टीका वरिष्ठ नेता सुब्रह्मण्यम स्वामीले नेपालभारत सन्दर्भमा व्यक्त गर्नु भएको विचार मननीय छ–। उनले आफ्नो ट्विटमा भनेका छन्, ‘नेपालले कसरी भारतीय भ–ूभागलाई आफ्नो भनेर सोच्न सक्छ ? के कुराले उनीहरूको भावनालाई चोट पुर्याएको छ ? जसका कारण भारतसँग सम्बन्ध तोड्न चाहन्छन् ? के यो हाम्रो असफलता होइन ? विदेश नीतिलाई पुनरावलोकनसहित फेरि स्थापित गर्न आवश्यक छ ।’
स्वामीको भनाइलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गम्भीरतापूर्वक लिने गर्दछन् । किनभने पार्टीमा उनको उचाई धेरै माथी छ ।
यस्तै रक्षामन्त्री राजनाथ सिंहले पनि नेपालसँग सीमाको विषयलाई लिएर जुन असमझदारी उत्पन्न भएको छ, त्यो वार्ताको माध्यमबाट समाधान हुनेछ किनभने नेपालसँग हाम्रो अत्यन्त निकटको सम्बन्ध छ ।
नेपाली जनता र संसदको बलियो समर्थनको बलमा प्रधानमन्त्री केपी ओलीले आफ्नो सम्पूर्ण संयन्त्र प्रयोग गरेर शान्त कूटनीतिको माध्यमबाट भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउनका निमित्त गम्भीर पहलकदमी चाल्नु पर्दछ । किनभने भारतसँग हाम्रो बहुआयामिक सम्बन्ध छ । यसमा कहीँकतै पनि उग्रराष्ट्रवादको प्रदर्शन दुवै देशको हितमा छैन ।
मुख्य कुरा प्रधानमन्त्री ओलीले आफ्नो समकक्षी मोदीसँगको व्यक्तिगत सम्बन्धको पनि उपयोग गर्नु पर्दछ । यसमा नेपालप्रति सद्भाव राख्ने भारतीय नेता र जनस्तरका व्यक्तिहरूसँग पनि सम्पर्क बढाउनु आवश्यक छ ।
संविधान संशोधन गरेर नेपालले आफ्नो भौगोलिक अखण्डताको रक्षाका लागि दृढ छ भन्ने जुन सन्देश दिएको छ, त्यसले सीमा सम्बन्धी वार्तामा बस्नका लागि नेपालको स्थिति स्पष्ट भएको छ ।
सीमा सम्बन्धी कारणले गर्दा भारतसँग अरू सम्बन्धमा असर पर्नु हुँदैन । नेपाल सरकारले धैर्यताका साथ बुद्धिमतापूर्वक भारतसँग सीमा वार्ताका लागि निरन्तर पहल गरिरहनु पर्दछ । सत्तरी वर्ष भन्दा गुजुल्टिएर रहेको यस समस्याको समाधान तत्काल हुँदैन ।
प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताका लागि जुन साहसिक कदम चालेका छन्, त्यसले गर्दा नेपालको इतिहासमा उनको नाम स्मरणीय बनेको छ ।
Twitter : @rmshghimire