काठमाडौं । नेकपा एमालेका नेता एवं सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय अनिलकुमार पोखरेलविरुद्ध ठगी आरोप लागेको छ । यो विषय सार्वजनिक भएपछि पोखरेलले अनिललाई स्वकीय सचिवको जिम्मेवारीबाट हटाएका छन् ।
एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै मोरङको रंगेली नगरपालिका–२ का अनिलले सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख रुपैयाँ लिएको आरोप छ । अनिलविरुद्ध प्रहरीले उजुरी लिन नमानेको भन्दै चौधरीले उच्च अदालत विराटनगरमा २०७९ सालमा मुद्दा दर्ता गराएका थिए । उच्च अदालतले मोरङ प्रहरीलाई परमादेश दिएपछि सभापति पोखरेलले अनिललाई स्वकीय सचिव पदबाट हटाएका हुन् ।
पोखरेलले संघीय संसदको महासचिवलाई पत्र लेख्दै अनिललाई स्वकीय सचिव पदबाट निष्कासन गरेको जानकारी गराएका छन् । उनीमाथि लागेका आरोपहरुको अनुसन्धानमा सहयोग पुगोस् भनेर अनिललाई स्वकीय सचिवबाट निष्कासन गरेको उनले बताएका छन् । साथै, निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारबाही हुनुपर्नेसमेत उनले पत्रमा उल्लेख गरेका छन् । एमालेको मोरङ जिल्ला कमिटी सदस्यसमेत रहेका अनिल २०७९ को निर्वाचनमा प्रदेशसभा सदस्य उम्मेदवारका लागि सिफारिस भएका थिए ।