मान्छेको सबैभन्दा ठूलो संरक्षक घरपरिवार मानिन्छ । तर, पछिल्लो समय नियाल्ने हो भने हामी घरभित्रै असुरक्षित बनिरहेका छौँ । यसको ज्वलन्त उदाहरण हो- कुलप्रसाद आचार्य र उनका कान्छा छोरा प्रवीणको हत्या ।
खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ घर भएका कुलप्रसादको आफ्नै छोरा र प्रवीणको आफ्नो दाजुबाट हत्या भयो । उनीहरूको हत्या यही पुस ६ गते मिलन आचार्यले गरेका थिए । उनी कुलप्रसादको जेठा छोरा र प्रवीणका दाइ हुन् ।
मिलनले बुबा र भाइको हत्या गरेकै हो भन्ने ठहर भइसकेको छैन । तर, उनले प्रहरीसमक्ष बुबा र भाइको हत्या आफैले गरेको स्वीकारेका छन् । हत्या गर्नेको करण खुलिसकेको छैन । तर, मिलनको बयानलाई पत्याउने हो भने उनको असफलताका कारण उनले बुबा र भाइको हत्या गरेका हुन् ।
यो त पछिल्लो एक उदाहरण मात्रै हो । सुन्दा पनि आङ सिरिङ्ग हुने यस्ता आततायी घटना हाम्रो समाजका कठोर यथार्थ बनिरहेका छन् । सम्पत्तिको लागि हत्या, रिसीबीका कारण हत्या, बदला भावनाले हत्या, अर्को प्रेममा परेपछि श्रीमान्-श्रीमतीको हत्याजस्ता घटना त दर्जनौँ हुने गर्छ । तत्कालीन राजा वीरेन्द्र शाहको पनि आफन्तबाटै हत्या भएको बताइन्छ । तर, अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन ।
घरभित्रै हत्याजस्तो जघन्य अपराधको सायदै कल्पना हुन्छ । तर, समाजमा यो यस्तरी बढिरहेको छ कि कसको हातबाट कतिबेला को मरिने हो, टुंगो छैन । यस्ता घटनाले हाम्रो समाजको कठोर यथार्थ बनेर उभिरहेका छन् । डरलाग्दो कुरा त आवेगजन्य यस्ता घटना बर्सेनि बढिरहेको आँकडा निस्कन्छ ।
नेपाल प्रहरीमा दर्ता भएका आफन्त-नातेदारबाट हुने हत्याको आँकडा हेर्दा झस्काउने छ । तीन आर्थिक वर्षमा आफ्नैबाट हत्या भएको ग्राफ निरन्तर उकालो लागेको देखिन्छ, जसलाई सामान्य मान्न सकिँदैन । देशभरका कुलमध्ये झन्डै आधा हत्याका घटना आफन्तकै हातबाट हुने तथ्याङ्कले देखाउँछ ।
प्रहरी प्रधान कार्यालयका अनुसार तीन वर्षमा आफन्तबाटै ७२७ जना आफन्तबाटै मारिएका छन् । आर्थिक वर्ष २०७९-८० मा २०८ जना, २०७८-७९ मा २५३ को र २०७७-७८ मा २६६ जनाको आफन्तबाटै हत्या भएको केन्द्रीय प्रहरी कार्यालयको तथ्यांक छ ।
प्रहरीको तथ्यांकको अनुसार पहिलो नम्बरमा श्रीमानले श्रीमतीको हत्या गर्ने गरेको देखिन्छ । श्रीमतीले श्रीमानको हत्या गर्ने दोस्रो नम्बरमा छ । त्यसपछि बाबु आमाले छोराछोरी-छोराछोरीले आमाबुबाको हत्यादेखि आमाले नवजात शिशुको हत्या, सौतनी आमा र बाबुले छोराछोरीको हत्या, मामाले भान्जा-भान्जी लगायतले हत्या गरेको देखिन्छ । प्रेमी–प्रेमिकाबाट हुने हत्या पनि धेरै छन्, जुन आफन्तअन्तर्गत समावेश गरिँदैन ।
अपराधले घर सुरक्षित थलो हो भन्ने अवधारणालाई ठूलो चुनौती दिएको छ । अपराध रोक्ने जिम्मा प्रहरीको मात्र होइन, समाजका सबै एकाइ सक्रिय हुनुपर्छ । घरलाई कुनै चिन्ता, तनाव भएमा त्यसबाट मुक्त हुने थलो मानिन्छ । घरमै सुरक्षित नभएपछि मानिस आश्रयका लागि कहाँ जाने ?
प्रहरीको तथ्याङ्क अनुसार ३६ प्रतिशत हत्या आफन्तबाटै हुने गरेको छ । आफन्तै नभएपनि चिनजानकै मान्छेबाट हुन्छ । परिवारमा घुलमिल हुने, पारिवारिक मूल्यमान्यताहरू छोडेर एक्लाएक्लै रमाउने प्रवृत्ति बढ्दो छ, भने सम्पत्तिको मोह बढ्दो छ । यसले पनि आफन्तबाटै आफन्तको हत्या हुने गरेको पाइन्छ ।
प्रायः घटनाहरूमा अंशबन्डा, यौन, पारिवारिक कलह, गरिबी, मदिरा सेवन जोडिएका हुन्छन् । श्रीमान् र श्रीमतीबीच एकअर्कामा विश्वास नहुँदा पनि हत्या हुने गरेको पाइन्छ । मदिरा सेवन गरेका वेला कुनै कुरामा तालमेल नमिलेर पनि हत्या हुने गर्दछ । केही आपराधिक घटनामा भने मानसिक रोगले ग्रस्त भएका व्यक्तिबाट पनि हुन्छ ।
आर्थिक अभावले कुनै व्यक्ति समाजमा उपेक्षित भइरहेको हुन्छन् । यस्तो अवस्थामा मानिसको मनस्थिति जतिबेला पनि अपराध गर्न उद्यत हुन सक्छन् । आर्थिक अभावको कारण केहीले अरूलाई मारेर आफू पनि आत्महत्या गर्छन् । म मरेपछि मेरो घरपरिवारले दुःख पाउछ । मेरो कारण छोराछोरी र परिवार कसैले पनि दुःख नपाओस् भनेर आफ्नो परिवार नै सखाप गर्ने गरेको पाइन्छ ।
रिसीबीका कारण पनि हत्या हुने गर्छ । रिस प्रायः आफन्तबाटै उठ्छ । कोही अपरिचितले रिस उठाएपनि मारिहाल्नु पर्छ भन्ने सोच्दैनन् । आफन्तले रिस उठाए भने बदलाको भावना लिने, सहन नसक्ने, पीडित हुने महसुस हुन्छ र हत्या हुने गर्छ ।
एकजनाको रिसीबीका कारण परिवार नै सखाप हुने पनि हुन्छ । आफ्नो पहिचान लुकाउनको लागि अबोध बालबालिकाले समेत ज्यान गुमाएको घटना धेरै छन् । नजिकको मान्छेले हत्या गरेको छ भने बच्चाहरूले पनि चिन्छन् भन्ने लाग्छ । बच्चाहरूलाई पनि मारेपछि आफ्नो पहिचान लुकाउन सजिलो हुन्छ भन्ने एउटा भ्रम हुन्छ । त्यसैले पनि सामूहिक हत्या हुने गर्छ ।
यो त भयो हत्याका कुरा । हिंसा पनि घरभित्र तथा आफन्तबाटै हुने भएको पाइन्छ । त्यसमा सबैभन्दा बढी महिला हिंसा हुने गरेको छ । हिंसाविरुद्ध प्रहरीमा पुगेका महिलाले सहज न्याय पाउन सकेका छैनन् । प्रहरीमा पुगेका धेरै घरेलु हिंसाका घटना दर्ता गर्न समस्या छ ।
दर्ता भएकालाई अनुसन्धान थाल्न र टुङ्ग्याउन थप समस्या छ । यसले गर्दा जबरजस्त मेलमिलापमा टुङ्ग्याइने गरेको छ । पीडित बोल्न नसक्ने, साक्षी जुटाउन नसकिने, पीडकका पक्षमा घरपरिवारदेखि गाउंँसमाज नै उर्लेर आउने समस्याले घरेलु हिंसाका मुद्दामा सहजीकरण गर्न समस्या छ ।
घरभित्र तथा आफन्तबाट हुने शारीरिक, मानसिक, भावनात्मक हिंसा तथा दुव्र्यवहार घरेलु हिंसा हुन् । घरेलु हिंसा विरुद्धको ऐनले घरभित्र हिंसा गर्नेलाई सजायको भागिदार बनाए पनि ग्रामीण तहसम्म प्रचार-प्रसार नहुँदा धेरैलाई थाहा छैन । कानुनी अज्ञानताले अधिकांश महिला घरेलु हिंसालाई अझै पनि इज्जत तथा प्रतिष्ठासँग जोडेका छन् ।
मान्छेको सबैभन्दा ठूलो संरक्षक परिवार हो । त्यसपछि आफन्त, समाज र समुदाय । तर, यहाँ परिवारभित्रैबाट हत्या गरिन्छ, बलात्कार हुन्छ । यस्ता घटनाका अपराधी पहिचान गर्न केही सजिलो भएपनि त्यस्ता घटनालाई रोक्न प्रहरीलाई चुनौतीपूर्ण छ । घरघरमा हुने हत्या रोक्न त असम्भव जस्तै छ । किनभने न घरघरमा सुरक्षाकर्मी खटाउन न सम्भव छ न व्यावहारिक नै ।
यस्ता अपराधले घर सुरक्षित थलो हो भन्ने अवधारणालाई ठूलो चुनौती दिएको छ । अपराध रोक्ने जिम्मा प्रहरीको मात्र होइन, समाजका सबै एकाइ सक्रिय हुनुपर्छ । कुनै चिन्ता, तनाव भएमा त्यसबाट मुक्त हुने थलो मानिन्छ, घरलाई । अनि मानिसका खास संरक्षक हुन्, परिवारका सदस्य । घरमै सुरक्षित नभएपछि मानिस आश्रयका लागि कहाँ जाने ? यसको निदान नखोज्ने हो भने कसैले कसैलाई विश्वास गर्न नहुने अवस्था आउन सक्छ ।