काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ । शनिबार र आइतबार बस्ने केन्द्रीय समितिको बैठकको पहिलो दिन आज सहकारीसम्बन्धी अध्यादेश २०८१ र संसदमा दर्ता भएका विधेयकमाथि छलफल गरी पार्टीको धारणा प्रस्तुत गर्ने कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।
आजको बैठकमा रास्वपाका केन्द्रीय सदस्यहरूबीच पार्टीको संगठन संरचना, समीक्षा, रणनीति, सवलीकरण र जागरणलगायत विषयमा छलफल हुने कार्यक्रम रहेको छ । आजै स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ गर्ने कार्यक्रम तय भएको रास्वपाले जनाएको छ ।
यस्तै, बैठकको दोस्रो दिन आइतबार संविधान परिमार्जन सम्बन्धमा छलफल गर्ने बताइएको छ । पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी तयार गरेको तालिकाअनुसार उक्त बैठकले प्रस्तावानाको व्याख्या एवं स्र्वाङ्गिण विकासको भावी रोडम्यापबारे छलफल गर्नेछ ।
साथै, रास्वपाको जलेश्वर बैठक र राष्ट्रिय भेलामा प्रस्तुत पार्टी सभापतिको राजनीतिक प्रतिवेदनका आधारमा आगामी कार्यदिशासँगै कार्यक्रम तालिकाबारे बैठकमा छलफल हुने बताइएको छ । बुर्लाकोटीका अनुसार आइतबारकोे बैठकले केन्द्रीय समिति, सल्लाहकार परिषद्, थिंकट्यांक एवं केन्द्रीय विभागको पुनःसंरचना, पार्टीको आचारसंहिता र बैठक सञ्चालन कार्यविधि संशोधनका विषयमा गर्नेछ ।
रास्वपाको केन्द्रीय समितिमा सभापति रवि लामिछानेसहित जम्मा ६१ जना सदस्य छन् । सभापति लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लागेपछि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारीमा डीपी अर्यालले गरेका छन् ।