मानव जीवनमा उतार–चढाव हुनु सामान्य हो । यही उतार–चढावमा साथहरुको आवश्यकता हुन्छ र त्यही साथहरुले आफ्नोपनको आभाष गराउँछ । साउनदेखि नै जटिल समस्या खेपिरहेकी थिएँ । जटिलता सामान्य नहुन्जेल शल्यक्रिया गर्ने सम्भावना थिएन । मैले सबै कुरा छोडिसकेको थिएँ । दैनिकीमा आरामलाई प्राथमिकता दिएको थिएँ ।
दैनिक धाउने कार्यक्रम, चाहे राजनीतिक होस् वा सामाजिक, सबै बन्द भइसकेको थियो । मात्रै, केही व्यक्तिगत भेटघाट गर्थेँ, जो मेरा लागि उर्जा थियो । यस बीचमा चारपटक अस्पताल भर्ना भएँ । दुईपटक काठमाडौँ र दुईपटक दोलखा । यो अवस्थामा मलाई लाग्थ्यो कि, सारा समाज मेरा हुन्, यही समाज मेरो सम्पत्ति हो । अब यत्तिकै पुग्छ मलाई भनेर सोच्ने म । तर, मैले ठ्याक्कै यसको उल्टो पाएँ ।
विरलै फोन–कल पाए पनि स्वास्थ्यस्थितिबारे बुझ्ने त औँलामा गन्ने साथीहरुमात्रै पाएँ । जबकि, लाखौँका बीचमा थिएँ, हजारौँको संगतमा थिएँ । तर, मेरा लागि चिन्तित, म प्रतिको माया सद्भाव त मात्रै दर्शक थिए होला । मैले यो बीचमा मनिषा कोइरालाको एक अन्तर्वार्ताको याद आयो । ‘साथ भनेको खाने, पिउने, भ्रमण जानलाई मात्रै हुँदा रहेछ । दुःख पर्दा एक्लै हुने रहेछ ।’
यो भनाइ मेरो जीवनमा पनि लागू भयो, जो मानिसहरु हरेकपल मेरा सल्लाहकार हुन्थे वा मैले पनि सल्लाह दिन्थेँ । सँगसँगै चिया खान्थे मेरा कति सकारात्मक कुरा गरेको पाइन्थ्यो ।
कवि, साहित्यिक व्यक्तित्व, सधैं हँसिली, खुशी । यस्तै, सर्वनामहरुबाट चिनिन्थेँ। तर, जब आजभन्दा भोलि ओछ्यानको बास हुन थाल्यो, न ती चिया खाने साथीहरु भेटेँ, न त ठट्यौली गर्ने टोलीहरु । ती साहित्यिक साथहरु कहाँ विलाए ? ती बिहान बेलुकी खबर सोध्ने साथहरु किन मौन रहे ? मात्रै केही साथहरु म सँग हुनुहुन्थ्यो, जो मेरो बिहान उठेदेखि साँझसम्म चिन्तन गर्नुहुन्थ्यो ।
यस्ता साथहरु पनि भेटेँ, समय त टाढै जाओस् । ज्यानै समर्पण गर्दै आएको थिएँ । तर जब म शारीरिक असमर्थन भएँ, तब उत्तर आउन थाल्यो ‘भ्याइनँ’, ‘घरमा काम छ’ , ‘व्यस्त भएँ’ इत्यादी । ए, हो ल शुभकामना छ स्वस्थ रहनुहोला भनेर मेरै फोनमा मलाई दिलासा दिने कामसम्म पाइयो । कति धेरै लापरबाही र कृत्रिम साथहरुमा बाँचेकी रहेछु । कस्तो समय पनि खेप्नुपर्ने रहेछ हगि भन्दै दंग परेँ । एउटा मुखुण्डो पछिको अर्को रुप देखेँ, बदलिँदो समाजको दिशाले कता डोर्याउँदैछ भनेर चकित भएँ ।
संवेदनशीलताको लागि कपाल पाकेर, डिग्री हासिल गरेर, विद्यावारिधी हासिल गरेर केही नहुने रहेछ । यो त बुवा–आमाबाट पाएको संस्कार, सामाजिक, धार्मिक र नैतिक हुनपर्ने रहेछ, जसले मानिसमा चिन्तन उत्पन्न गर्दछ र अरुको भावनाको कदर गर्दछ ।
अब, म सोच्न थालेँ, मैले कसलाई आफ्ना भनूँ ? ओहो त्यो लहर, त्यो साथहरु कति उर्जाशील थियो । म आफैँ पनि धेरैवटा संजालमा आबद्धता भएकी मान्छे । संस्थागत सक्रिय सदस्य पनि भएकी मान्छे । मेरो दौडधुपमा खुशी हुने मान्छे, मेरा साथहरु मेरा हिम्मत गर्विलो महसुस गर्ने मान्छे । तर, सबै साथहरु हराएछन् समुद्रमा विलिन भएझैँ। हुन त, मैले शुभेच्छाको आशा गर्ने हैन । तर, समाजमा म जस्ता मानिस कसरी एक्लिए ? भन्ने प्रश्नले मन भारी भयो । अबको पीढी कहाँ जाँदैछ ? भन्दै सम्झेर डर लाग्यो ।
ओहो, एक डरलाग्दो समयको शुरुआत देखेँ । जहाँ मानिस पद र प्रतिष्ठाले मात्रै हालखबर सोध्ने वा बोल्ने गर्दारहेछन् । अब मानिस हैन, रोबर्ट युगको शुरुआत भइसकेको रहेछ । हामी मानिस कति संवेदनशील हुनुपर्छ, त्यो कुरा कहीँकतै भेटिनँ । म आत्तिएँ, कहालीलाग्दो थियो मेरा ति दिन अनि रातहरु । सिरानीले बिझाउँथ्यो, सिरकले पोल्थ्यो ।
म दिनमा जति धेरै मानिसहरुसँग भेट्थेँ, उति नै खुशी हुन्थेँ । बेलुका आफैँ मनन गर्थे कि, आज के सिकेँ ? के बोलेँ ? के थियो ? भनेर मस्तिष्क मन्थन गर्थेँ । तर, आफूलाई कतै एक भीड बढाउन बोलाएको हुनेरहेछ । कसैले आफ्नो कुरा सुनाउन र कतै आफ्नो स्वार्थ पूरा गर्न । केही हासिल नभएपछि कोही आफ्ना रहेनन् ।
म भने कुरा सुनेर भएपनि एक असल साथ निभाउनुपर्छ भन्ने सोच्थेँ । तर, यो भीडमा केही रत्नहरु न किन्न सकिन्छ, न त बेच्न पाइन्छ । जीवनभर आर्जेको अति महत्त्वपूर्ण रत्नहरु पनि हासिल गरेको आभाष भयो । जो सधंै–सधैं हाम्रो जीवनका निम्ति चिन्तित हुन्छन् ।
मानिस समुदायमा बसोबास गर्छ । बाँच्नलाई समाज चाहिन्छ । अहिले त्यही समाजसँग हामी स्वतन्त्रताको नाममा यति धेरै स्वतन्त्र भयौँ कि कुनै संघसंस्था, कुनै समिति वा जहाँ रहेपनि ज्यान सन्चो हुन्जेल हाँसेर बाचुन्जेल मात्र रहेछ साथहरु ।
यस्ता खाले साथले तपाईंलाई कहाँ पुर्याउँछ ? तपाईंको घर–परिवार बालबच्चालाई दिने समय खर्चिनुहुन्छ । त्यो समय कति अमूल्य छ, त्यो समय भीड बढाउन मात्रै हैन । तर, ती मानवीय हैसियत नभएका कृत्रिम मानिसहरुको नजरमा एक पुत्ला हुन पुगियो । हुन त, तितो अनुभवले निखारिन्छ । तर, के हामी यही समाजमा छौँ, जहाँ संजालको वालमा अझै अरुको पोष्टमा गएर प्रतिक्रिया जनाउँदै भन्छौँ– मैले कामना गरेको थिएँ ।
यस्तो खाले जिम्मेवारविहीन संगतबाट बाहिर आउन जरुरी छ । जसले तपाईंको मानसिक स्वास्थ्यमा पनि प्रभाव पार्दछ । जब, साथको आवश्यकता थियो, संजालको भित्ताहरुमा पाएँ । के साथहरु गल्ती जोख्नलाई र औँला ठड्याउनलाई मात्र हो ? जहिले गलत साबित गर्नलाई हो ? जहिले बार लगाउनलाई मात्र हो ? मेरा प्रत्येक कुराको नापतौल गर्नलाई हो ? फोटोमा माला चढाउनकै निम्ति कुरेको हो त ?
पार्टीको झण्डा मेरो लाशमाथि राखेर कति समर्पित छु भन्दै लालसलाम भन्नलाई हो ? मेरो घरपरिवारले भोगेको दुःख पिडा बजारीकरण गर्नलाई हो ? किन चाहिन्छ मानिसलाई समाज ? यो त हामी सबैलाई ज्ञात छ, मानिस सामाजिक प्राणी हो भनेर । तर, यहाँ त पैसा भएसी सबै किन्न सकिन्छ भन्ने दम्भ, घमण्डले सबै संस्कार चक्नाचुर बनाएको छ ।
बल्ल थाहा पाएँ, म कहाँ रहेछु, कसको बौद्धिकस्तर कहाँ रहेछ ? क्षमता कति रहेछ बुझ्न पाएँ कि यति धेरै लापरवाही मानिस हुन सक्ला ? भन्दा जवाफ यस्तो थियो कि, म नबुझ्ने भएँ, मौन भएँ ।
यही हो हाम्रो समाज । हामी र हाम्रो साथ आखिर मैले आफैँलाई सम्झाएँ । ति कृत्रिम साथहरु हुनुभन्दा नभएको बेस भन्दै सम्झाएँ । त्यो ठूलो संजाल अर्थात सागरबाट आशा गरेकी मैले गिट्टी, बालुवा सबै आफ्नो हैनन्, मात्रै केही मोती टिप्न सफल भएकी पाएँ ।
एक्लोपनामा आफ्नै ओछ्यान र भित्ताहरुले तर्साएको बेला प्रोत्साहन गर्ने साथहरु अझै म सँग हुनुहुन्थ्यो । जसले कहिले हिम्मत हार्न दिएन । कसैलाई भौतिक उपस्थितिमा पाएँ, कसैले सात समुद्रपारीबाट बिहान–बेलुकी सम्झना गरे ।
भनिन्छ, लाखौँका बीच अनि हजाराैँकाे संगतमा मात्रै रत्न पाइन्छ । जस्तै पितल, तामा, चाँदी, सुन, हीराको आफ्नै मूल्य हुन्छ । टल्किने सबै हीरा हुँदैन र पहेँलो सबै सुन हुँदैन । त्यस्तै ति हजारौंको लस्करभित्र पाएका केही महत्त्वपूर्ण रत्नहरुमा धन्यवाद ज्ञापन गर्दै त्यो गहराईभित्र पुग्न सफल भएकी म जहिले जूनको उजेलीझैँ उज्यालो छर्न सकूँ । सम्हालेर राख्न सकूँँ । धन्यवाद छ मेरा रत्नहरुप्रति ।