Logo
Logo

आज पनि माओवादीको स्थायी कमिटी बैठक, यी हुन् छलफलका एजेण्डा


1.8k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

उनका अनुसार आजको बैठकले भोलिबाट सुरु हुने केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गर्नेछ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ ।

अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठकमा आएको सुझावलाई समेटेर आइतबार बस्ने बैठकमा ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ भन्ने शीर्षकमा प्रतिवेदन पेश गर्दैछन् । अध्यक्ष प्रचण्डले आफू नेतृत्वको सरकार ढलेर प्रतिपक्षमा पुगेको पाँच महिनापछि सिंगो केन्द्रीय कमिटीको बैठक पहिलोपटक फेस गर्न लागेका हुन् ।

एमाले र कांग्रेस मिलेपछि सरकारबाट बाहिरिएको परिस्थितिलाई पार्टी निर्माण गर्न अवसरको रुपमा लिने माओवादीको निष्कर्ष छ । यही केन्द्रीय कमिटीको बैठकबाट संगठन निर्माणको अभियानबारे निर्णय पनि गर्दैछ ।

उपमहासचिव जनार्दन शर्माले प्रचण्डले नेतृत्व छाड्नुपर्नेदेखि प्रदेशस्तरीय परामर्श समितिको बैठकमा आएको सुझावलाई दस्तावेजमा समेट्ने तयारी गरेका छन् । शर्माको प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा पनि छलफलमा लैजाने प्रचण्डले आश्वासन दिएका छन् ।

माओवादीले यही केन्द्रीय कमिटीको बैठकबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, महेन्द्रराय यादव नेतृत्वको नेसपासँग एकता गर्ने निर्णय गर्ने तयारी गरेको छ । साथै, माओवादीले सरकारविरुद्ध खबरदारी सभालाई पनि निरन्तरता दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्