रंगमाया आमाको रंगिन नै छ कहानी
कोपिलामै टिपिएको आफ्नो जवानी
किशोरी यौवन अंकुराउँदै रहँदा
लुटिएँ वनमा बाख्रा हेर्न जाँदा ।
छिमेकी दुष्टले समात्यो कठालो
पछारेर भुइँमा हाल्यो अँगालो
गुमाउँदै होस सर्वस्व लुट्यो
रोपिदियो गर्भ अस्मिता भुट्यो ।
किन लुक्थ्यो भ्रुण ठूलो हुँदै गयो
चिटिक्कको शरीर मेरो असरल्य भयो
गाउँ टोल छिमेकमा कुरा काट्न थाले
भुत्ल्याउँदै निकाले घरबाट बा ले ।
कसको गर्भ भनी खोजी हुन थाल्यो
लुकाउन अपराध गोटी अर्को चाल्यो
छिमेकीको घरमा आगलागी भयो
आरोप लाउँदै मलाई आफू फरार भयो ।
बिना कसुर प्रमाण जानुपर्यो जेल
बलेको आगोमा झनै थप्यो तेल
थियो क्रुर यातना सुत्केरीको बेदना
सहन नसकी हराउँथ्यो चेतना ।
न त थियो दयामाया न त कठै हाँसो
एक्लै त कठिन थियो झनै लाग्यो पासो
रमाएकै थिएँ जहाँ छाड्ने आदेश आयो
जेलमै राख भन्दै रोएँ घोक्रेठ्याक लायो ।
बनी गरी हुर्काएर पढ्नलाई पठाएँ
भोको पेट र उदाङ्गो आङमा आफू रमाएँ
नागरिकता चाहियो भन्दै रून थाल्यो छोरो
आमा भन्नै लाज लाग्छ को हो लोग्ने तेरो ?
मेघ जस्तै गर्जिएर थर्काउँथ्यो मलाई
खाटा बस्न लाग्या घाउमा लगाउँथ्यो सलाई
अधिकारकर्मीहरू दिन थाले साथ
मुस्किलैले नागरिकता थमाइदिए हात
पच्चीस वर्ष पुग्यो छोरा कल्पिएथ्यो मनै
घुम्न भनी निस्क्यो बाहिर फर्किएन झनै ।
सुशिला शर्मा
बाग्मती प्रदेश
भीनपा–४, दोलखा