काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एक पटक देशको नेतृत्व गर्न नेकपाले चाहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा विप्लवले आफ्नो सेवा सुविधाका लागि नभई देश र जनताको सेवाका लागि नेकपाले एक पटक देशको नेतृत्व गर्न चाहेको बताएका हुन् । उनले मुलुकको विकास र नेपाललाई हेप्ने विदेशी शक्तिका विरुद्ध सशक्त भएर उभिने स्पष्ट दृष्टिकोण नेकपामा रहेको जिकिर गरे ।
क्रान्तिकारीबीच सुरु भएको ध्रुवीकरणको क्रम अव नरोकिने भन्दै देशको नेतृत्वमा पुग्ने गरी सबैबीच ध्रुवीकरण हुने उनले बताए । विप्लवले दलालहरूको व्यवस्थालाई बदल्न जरुरी रहेकाले सबै माओवादी घटकहरू तयार हुनुपर्ने उनको भनाइ छ । उनले समान बिचारधाराबीच एकता र सहकार्य गर्दै देशलाई संकटबाट रूपान्तरणतर्फ लैजाने बताए ।
उनले ठुला भनिएका दलहरूभित्रको ध्रुवीकरण पनि जनताले हेरिरहेको भए पनि उनीहरूको क्रियाकलापले जनता सन्तुष्ट नरहेको धारणा राखे । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी कम्युनिस्ट पार्टी, विद्रोहीबीच एकता घोषणा गरिएको थियो ।