Logo
Logo

गाजामा इजरायली आक्रमणमा १९ जनाको मृत्यु


378
Shares

एजेन्सी । गाजाका उद्धारकर्ताहरूले शनिबार प्यालेस्टिनी भूमिमा इजरायली आक्रमणमा आठ बालबालिकासहित कम्तीमा १९ जनाको मृत्यु भएको बताएका छन् ।

नागरिक सुरक्षा निकायका अनुसार गाजा शहरमा अल–घोल परिवारको घरमा बिहान भएको हवाई आक्रमणमा परी ११ जनाको मृत्यु भएको थियो ।

नागरिक सुरक्षा प्रवक्ता महमुद बसालले भने, ‘विस्थापित बस्दै आएको घरमा भएको आक्रमणबाट घर पूर्णरूपमा ध्वस्त भएको छ भने ११ जनाको मृत्यु भएको छ।’

‘आक्रमणमा दुई तले भवनमा क्षति पुगेको र अझै पनि धेरै मानिस भग्नावशेषमुनि रहेका छन्’, उनले भने । इजरायली ड्रोनले एम्बुलेन्सका कर्मचारीमाथि पनि गोली चलाएको प्यालेष्टिनी प्रशासनले जनाएको छ ।

इजरायली सेनाले आक्रमणबारे तत्काल कुनै टिप्पणी गरेको छैन । गाजा शहरको पूर्वमा रहेको शुजैयाको आसपासबाट एएफपीले खिचेको तस्बिरमा त्यहाँका बासिन्दाहरु आक्रमणपछि आगलागी भएको घरको भग्नावशेषबाट बाहिर निस्किरहेको र भुईंमा सेतो पाताले ढाकिएका मृत शरीरहरू देखिएको छ ।

‘ठूलो विस्फोटले हामीलाई ब्यूँझायो । सबै कुरा हल्लिएको थियो’, घटनाका प्रत्यक्षदर्शी अहमद मुसाले भने ।

उनले भने, ‘हामीले उठेर सबैले हे¥यौँ, आक्रमण मेरै छिमेकी अल–घोलस्थित एक घरमा भएको थियो । त्यहाँ केही विस्थापित केटाकेटी र महिलाहरूलाई राखिएको थियो ।’

नागरिक सुरक्षा निकायका अनुसार दक्षिणी शहर खान युनिसमा इजरायली आक्रमणमा परी पाँच जना सुरक्षा अधिकारीको मृत्यु भएको छ ।

बासलले इजरायलले मानवीय आपूर्ति शृङ्खलालाई प्रभावित गर्न र मानिसहरूलाई आतङ्कत पार्न ‘जानाजानी’ उनीहरूलाई लक्षित गरेको आरोप लगाए । सेनाले अहिलेसम्म उक्त आरोपबारे कुनै प्रतिक्रिया जनाएको छैन ।

स्थानीय उद्धारकर्ताका अनुसार खान युनिसमा एक घरमा बम विष्फोट हुँदा एक बालकसहित तीन जनाको मृत्यु भएको थियो ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणको बदलामा इजरायलले गाजामा युद्ध सुरु गरेको थियो । इजरायलमा भएको हमासको उक्त आक्रमणमा एक हजार २०८ जनाको मृत्यु भएको थियो ।

इजरायलको जवाफी कारबाहीमा गाजामा कम्तीमा ४५ हजार ७१७ जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश सर्वसाधारण रहेको संयुक्त राष्ट्रसङ्घले विश्वासिलो मानेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्