गुल्मी । पछिल्लो समय जिल्लाका कृषक परम्परागत कृषि पेसा छोडेर कफीखेतीमा आकर्षित हुन थालेका छन् । मदाने गाउँपालिका–३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका कृषकहरू यतिबेला बारीमा मकै र कोदोखेती छोडेर कफीको व्यावसायिक उत्पदान गर्न थालेका हुन् ।
तीन वर्षअघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषकहरूलाई व्यावसायिक रूपमा कफीखेतीप्रति आकर्षित गराउन तालिकसहित कफीको उत्पादन र यसको महत्वबारे जानकारी दिनाका साथै कफीखेती गर्न चाहनेलाई अनुदान उपलब्ध गराएपछि कृषकले परम्परागत खेती छोडेर यसतर्फ आकर्षित भएका सिर्सेनीका कृषक मेघलाल अर्यालले बताए ।
मकै र कोदोजस्ता परम्परागत खेती गर्दै आएका कृषकलाई कफीखेती तुलनात्मक रूपमा सहज भएको उनको भनाइ छ । यहाँका किसानले ‘तीनधारे कफी उत्पादन कृषक समूह’ मार्फत खेती सुरु गरेका अर्यालले बताए । उनका अनुसार चार वर्षअघि गठन भएको उक्त संस्थामार्फत यहाँका प्रत्यक परिवारले व्यावसायिक रूपमा उत्पादन सुरु गरेका हुन् ।
यहाँका कृषकको बगैँचामा ५० देखि दुई हजारसम्म कफीका बोटहरू रहेका अर्यालले जानकारी दिए । चार वर्षअघि रोपेका बोटहरूले फल दिन सुरु गरेपछि कृषक पनि उत्साहित बनेका छन् । सिर्सेनीमा सबैभन्दा बढी कफीखेती गर्ने कृषकका रूपमा अर्याल चिनिन्छन् ।
दश रोपनी जग्गामा यतिबेला दुई हजार बढी बोट रहेका कृषक अर्यालले जानकारी दिए । ‘चाँडै हुर्किएका बोटहरूबाट कफी पाक्न थालेको छ । विगतमा मकै र कोदो रोप्दै आएका बारीहरू अहिले कफीले ढपक्क ढाकेको छ’, उनले भने । उनी जस्तै व्यावसायिक कफीखेती सुरु गरेका शशीधर अर्यालले सुरुमा बिरुवा हुर्काउन समस्या भए पनि अहिले खेतीले आशा जगाएको बताए ।