सर्लाही । सर्लाहीमा मापसे चेकिङका क्रममा स्थानीयसँग विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ । गएरति सर्लाहीको रामनगर गाउँपालिका–५ स्थित वैजनाथ चोकमा मापसे चेकिङमा खटिएको प्रहरी र स्थानीय युवाबीच विवाद भएको थियो । सोक्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको छ ।
चेकिङका क्रममा प्रहरीमाथि आक्रमण भएपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको मधेश प्रदेश प्रहरी प्रवक्ता एसपी सुवास बोहोराले बताए ।
उनका अनुसार राति ९ बजेतिर बैजनाथ चोकमा इलाका प्रहरी कार्यालय गडहिया डुमरियाका प्रमुख प्रहरी निरीक्षक उज्ववल कार्कीको कमान्डमा मापसे चेकिङ भइरहेको थियो । सोही क्रममा रामनगर गाउँपालिका–५ का वडाध्यक्ष श्रीनन्दन यादवसहितको टोलीले चेकिङलाई अवरोध गरेका थिए । स्थानीयको आक्रमणबाट प्रहरी हवल्दार शैलेन्द्र रायको टाउकोमा चोट लागेको एसपी बोहराले बताए । रायको उपचार जनकपुर न्यूरो अस्पतालमा भइरहेको छ ।
तर, वडाध्यक्ष श्रीनन्दन यादवले भने प्रहरीले चेकिङको नाममा स्थानीयसँग रकम असुलेको र केहीलाई हिरासतमा राखेको गुनासो आएपछि आफू सो स्थानमा पुगेको बताए । स्थानीय युवासँग प्रहरीको लफडा भएपछि आफूले छुट्याएको उनको भनाइ छ ।