काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका प्रतिक्रियावादी शक्तिहरू आतंकित भएको बताएका छन् । आइतबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा ४३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन् ।
अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिहरू निर्दयी र अमानवीयरूपमा एमालेविरुद्ध झुटो प्रचारमा लागेको दावी गरे । ‘हामी विरोधीका आरोपमाथि चुप लागेर बस्नु हुँदैन । चुप लागेर बस्नुपर्छ भन्ने कमजोर धारणा हो’ ओलीले भने, ‘विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्छ । हाम्रा सबै संगठन उत्साहित भएर व्यक्ति–व्यक्ति र घर घरमा पुग्नुपर्छ । वैचारिक कामलाई उत्तिकै महत्व दिनुपर्छ ।’ पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।
अध्यक्ष ओलीले भने, ‘लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्याउने कार्यले पार्टीलाई बलियो बनाउँदैन । बहकावमा लागेर होइन, एउटै नीतिगत लयमा पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर हामी अगाडि बढ्न सक्नुपर्छ ।’
उनले पार्टीका आन्तरिक विषय सार्वजनिक खपतका लागि प्रस्तुत नगर्न आग्रह गर्दै पार्टी विभाजन गरेर वा सिध्याइयो भनेर लड्डु खाएका कतिपय नेताहरूलाई अहिले लड्डु ओकल्नुपरेको टिप्पणी गरे । प्रचण्ड र नेपालको नाम नलिई उनले अहिले ती नेताहरूलाई लड्डु ओकल्न परेको बताए ।
अध्यक्ष ओलीले केन्द्रीय समितिमा पेस गरेको राजनीतिक प्रतिवेदनमा नयाँ राजनीतिक कोर्स–एमाले र नेपाली कांग्रेससँगको गठनबन्धन आवश्यकता, औचित्य र अवसर, गठनबन्धनपछिका छ महिना, अस्थिरता, अराजकता र प्रयोजित निराशाका प्रयास, बदलिँदो विश्व परिवेश र नेपालको पराराष्ट्र नीति, उपनिर्वाचनको समीक्षा र निर्णायक राष्ट्रिय शक्तिको निर्माण आदि विषयवस्तु समेटिएका छन् ।
बैठकमा राजनीतिक प्रतिवेदनका साथै सांगठनिक कामको संक्षिप्त जानकारी, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक (८–९, वैशाख, २०८१) पछि भएका केन्द्रीय सचिवालय र पोलिटब्युरो बैठकका निर्णहरुको जानकारी, केन्द्रीय आयोगका अध्यक्षको सम्बोधन, समसामयिक प्रस्ताव र विविध विषय कार्यसूची रहेको महासचिव शंकर पोखरेलले बैठकमा जानकारी गराएका छन् ।