काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारका केही कामहरू सकारात्मक भए पनि पर्याप्त नभएको टिप्पणी गरेका छन् ।
पार्टी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा नेकपा एमाले अध्यक्ष समेत रहेका ओलीले सरकारका कामहरू पर्याप्त नभएको बताएका हुन् ।
ओलीको प्रतिवेदनमा भनिएको छ, ‘नयाँ सरकारका यी कामहरू सकारात्मक छन्, तर पर्याप्त भने छैनन् । दुई मुख्य दलको साझेदारी र अन्य दलहरू समेतको सहभागीतामा बनेको शक्तिशाली सरकारबाट जनताले अझ तीव्र विकास, परिवर्तन र डेलिभरीको अपेक्षा गरिरहेका छन् ।’
उनले एक वर्ष बितिसक्दा पनि जाजरकोट र पश्चिम रुकुममा पुनर्निर्माणको काम थालनी नहुनु र असोज दोस्रो साताको बाढीबाट पीडितहरूको पुनस्थापनामा ढिलाइ हुनु सोचनीय विषय भएको प्रतिवेदनमा उल्लेख गरेका छन् ।