काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन नगरी एक्लै चुनाव लड्ने गरि अघि बढ्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।
आइतबारबाट काठमाडौंमा सुरु माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै प्रचण्डले आगामी निर्वाचनमा कांग्रेस र एमाले जस्ता पार्टीसँग मिलेर चुनाव नलड्ने र एक्लै चुनाव लड्ने गरि अघि बढ्ने प्रस्ताव प्रस्तुत गरेका हुन् । त्यस्तै प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले वैज्ञानिक समाजवाद मान्नेहरुसँगै एकता गरेर अघि बढ्ने बताएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा बहुमत, विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य, प्रभु साहलगायतका पार्टीहरुसँग एकताको पहल गर्ने प्रस्ताव प्रचण्डको रहेको सापकोटाले जानकारी दिए । अहिले माओवादीको पक्षमा देशैभर सकारात्मक ऊर्जा पैदा भएको र यथास्थितिबाट जनतामाझ फर्किनुपर्नेमा प्रचण्डको जोड रहेको छ ।
यसका लागि फागुन १ देखि तराई मधेश जागरण अभियान र अर्को एक महिना पूर्वपश्चिम अभियान सञ्चालन गरी अध्यक्ष लगायत सबै पदाधिकारी सामेल हुनुपर्ने प्रस्ताव समेत प्रचण्डको रहेको प्रवक्ता सापकोटाले जानकारी दिए । अग्रगमनका पक्षमा संविधान संशोधनका लागि बहस र छलफल चलाउनुपर्ने, सङ्क्रमणकालीन न्यायसँगसम्बन्धी समितिको पदाधिकारी नियुक्त गर्न पहल गर्ने लगाएका विषय अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा उल्लेख गरेको सापकोटाले बताए ।
बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनसँगै विभिन्न प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी लगायतले रिपोर्टिङ गरेका थिए । उनीहरूको रिपोर्टिङमा देशैभर माओवादी प्रवेश गर्नेको लहर चलेको र पार्टीलाई बलियो बनाएर अघि बढाउनुपर्नेमा केन्द्रित रहेको प्रवक्ता सापकोटाले बताए । बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङलाई आमन्त्रित सदस्यको रूपमा बोलाइएको भन्दै सापकोटाले पदका विषयमा कुनै छलफल नभएको जिकिर गरे । केन्द्रीय समितिको पूर्ण बैठक सोमबार बिहान ११ बजे बस्ने र विभिन्न प्रतिवेदनमाथि छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।