Logo
Logo

प्रचण्डमाथि ओलीको आरोपै आरोप   


1.2k
Shares

काठमाडौँ । सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी/समिति बैठक आइतबार एकैदिन सुरु भएको छ । 

बैठकको पहिलो दिन प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आ–आफ्नो राजनीति प्रतिवेदन प्रस्तुत गरेका छन् । ओलीले ४७ पेजको प्रतिवेदनमा माओवादी अध्यक्ष प्रचण्डलाई आरोपै आरोप लगाएका छन् ।

प्रचण्डमाथि के–के छन् ओलीको आरोप ?

आफ्ना चोख्याउने अभियान– प्रचण्ड प्रधानमन्त्री हुँदा भ्रष्टाचार र सुशासनका पक्षमा नभई ‘आफ्ना चोख्याउने अभियान’ चलाएको ओलीको आरोप छ । ओलीले प्रतिवेदनमा भनेका छन्– ‘पूर्ववर्ती सरकारले भ्रष्टाचारविरुद्ध कुनै ‘अभियान’ चलाइरहेको थिएन । बरु ‘आफ्नालाई चोख्याउने’ अभियानमा केन्द्रित थियो । चर्चित ललितानिवास प्रकरणमा सर्वोच्चको निर्देशनात्मक आदेशपछि मात्रै सम्बद्ध प्रकरणमा जोडिएका पूर्वप्रधानमन्त्रीहरूलाई सोधपुछ गरिएको विषय होस् या सुन तस्करीमा नाम मुछिएका पूर्वसभामुखलाई संसदमा दबाबपछि बनेको न्यायिक आयोगको प्रतिवेदनपछि मात्रै वाध्यात्मक रुपमा मुद्दा चलाइएको विषय होस्, नेपाली जनताका मनमा त्यतिबेला प्रदर्शित पाखण्ड र सदाचारको आवरणमा भ्रष्टाचारको संरक्षणका घटनाहरू ताजै छन् ।’

अलोकतान्त्रिक अभ्यास र विश्वासघात – एमाले र माओवादी केन्द्रबीच विगतमा भएका सहकार्य प्रयासहरूलाई असफल बनाउन प्रचण्डको भूमिकालाई दोषारोपण गरिएको छ । प्रतिवेदनमा माओवादी केन्द्रले अलोकतान्त्रिक अभ्यास र विश्वासघात गरेको दाबी गरिएको छ ।

स्वार्थका लागि सहकार्यलाई तोड्ने – ओलीले प्रचण्डलाई ‘आफ्नै स्वार्थका लागि सहकार्यलाई तोड्ने’ र ‘राजनीतिक स्थायित्वलाई कमजोर बनाउने’ मुख्य पात्रका रूपमा चित्रित गरेको छ । प्रतिवेदनमा भनिएको छ, ‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका सहकार्यहरूलाई विश्वासघात गरेर पदलिप्साको राजनीति गरेका छन् । यो प्रवृत्तिले सुशासन र स्थायित्वका प्रयासहरूलाई असफल बनाएको छ ।’

लोकतान्त्रिकलाई कमजोर बनाउने षड्यन्त्र – प्रतिवेदनले प्रचण्डमाथि लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउन षड्यन्त्र गरेको आरोप लगाएको छ । ‘उनको आचरणले विधिको शासनलाई कमजोर बनाउन मात्र होइन, आम जनताको आशा–अपेक्षामाथि प्रहार गरेको छ।’

अस्थिरता र स्वार्थी – प्रतिवेदनमा ओलीले प्रचण्डको व्यवहारलाई ‘अस्थिरता र स्वार्थका लागि सम्झौता गर्ने चरित्र’ भनेर व्याख्या गरेका छन् । ‘उनले पदका लागि दलहरूको सहकार्यलाई बारम्बार भङ्ग गरेका छन् । यसले विश्वासयोग्य राजनीतिमा ठूलो क्षति पु¥याएको छ ।’

माओवादीले भ्रम छर्‍यो – स्थानीय तहको उपनिर्वाचन परिणामलाई लिएर माओवादीले भ्रामक सन्देश सम्प्रेषण गर्ने प्रयास गरिरहेको ओलीको आरोप छ । उनको प्रतिवेदनमा भनिएको छ– ‘उपनिर्वाचन परिणामलाई लिएर नेकपा (माओवादी केन्द्र) ले एउटा भ्रामक सन्देश सम्प्रेषण गर्ने प्रयास गरिरहेको छ– आफ्नो दल पहिलो भएको र लोकप्रिय मत ह्वात्तै बढेको आदि । माओवादी केन्द्रले ८ बाट बढाएर ११ स्थानमा विजय हासिल गरेको सत्य हो, तर हिजो ६ दलीय गठबन्धनका बेला आफूले उम्मेदवार नै नउठाएको र त्यसै कारण शून्य मत भएको ठाउँमा अहिले प्राप्त भएको मत जोड्दा मात्र उसको मत बढेको देखिएको हो ।’

राजावादीसँग उठबस– ओलीले माओवादी केन्द्रलाई राजावादीसँग उठबस भएको आरोप लगाएका छन् । सरकारबाट बाहिरिएपछि माओवादी अध्यक्ष प्रचण्डले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै ओलीले तीव्र रोष प्रकट गरेका छन् । 

‘गैर–कूटनीतिक र अशोभनीय टिप्पणी मात्रै थिएन, राजनीतिक अवसरवादको भद्दा नमुना पनि थियो,’ ओलीले लेखेका छन्, ‘आज माओवादी–केन्द्र एक वर्ष अगाडि आफ्नै प्रदेशसभा सदस्यहरूको समेत सहभागितामा नामकरण गरिएको ‘कोशी’ को विरुद्ध उग्र समूहहरूसँग मोर्चाबन्दी गरिरहेको छ। ऊ राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पु¥याउन उद्दत देखिएको छ । पूर्व राजावादीहरूसँग बाक्लै बसाउठी गरिरहेको छ ।’

ओलीले माओवादी केन्द्रमा वैचारिक विचलन आएको टिप्पणी समेत गरेका छन् । ‘सरकारमा रहँदा आफैले कारबाही गरेका व्यक्तिहरू र समूहको खुल्ला समर्थनमा उत्रिएको छ । 

प्रतिक्रिया दिनुहोस्