एजेन्सी । इजरायली सेनाले गाजापट्टीमा पछिल्लो ७२ घण्टामा ९४ वटा हवाई आक्रमण र गोलाबारी गर्दा १८४ जनाको मृत्यु भएको छ ।
हमासद्वारा सञ्चालित गाजा मिडिया कार्यालयले विज्ञप्ति जारी गर्दै निहत्था नागरिक र आवासीय क्षेत्र, विशेषगरी गाजा सिटीलाई लक्षित गरी गरिएको आक्रमणबाट १८४ जनाको मृत्यु भएको जानकारी दिएको हो । उक्त आक्रमणलाई ‘खतरनाक र क्रूर’ भनिएको छ ।
मृत्यु भएका वा घाइते भएका मध्ये धेरै जना भग्नावशेषमा फसेका छन् । क्षतिग्रस्त पूर्वाधारका कारण उनीहरूलाई अस्पतालसम्म पुर्याउन कठिन भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छ । गाजामा प्यालेस्टिनी नागरिक सुरक्षा अधिकारीहरूले इजरायली हवाई आक्रमण विगत तीन दिनदेखि हिंसात्मक रूपमा तीव्र भएको पुष्टि गरेका छन् ।
हमासले इजरायली सेनालाई यी ‘भयानक आक्रमण’ को लागि पूर्ण रूपमा जिम्मेवार ठह¥याएको छ । विज्ञप्तिमा इजरायललाई हतियार र राजनीतिक समर्थन गरेकोमा अमेरिकी प्रशासनको आलोचना पनि गरिएको छ । यसले अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई यी ‘जघन्य अपराधहरू’ को दस्तावेजीकरण गर्न र अपराधीहरूको जवाफदेहीता सुनिश्चित गर्न स्वतन्त्र अनुसन्धान टोलीहरू पठाएर आफ्नो कानुनी र नैतिक दायित्वहरू पालन गर्न आह्वान गरेको छ ।
इजरायली रक्षामन्त्री काट्जले बुधबार हमासले बन्धकहरूलाई रिहा नगरे र इजरायलमाथि रकेट प्रहार गर्न बन्द नगरे ‘व्यापक बल’ प्रयोग गर्ने चेतावनी दिएपछि बिहीबार बिहानदेखि गाजामा इजरायली हवाई आक्रमण सुरु भएको थियो ।
सन् २०२३ अक्टोबर ७ मा शत्रुता सुरु भएदेखि इजरायलले गाजामा हमासविरुद्ध ठूलो मात्रामा सैन्य अभियान चलाइरहेको छ । युद्धका कारण गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार ४५ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ ।
दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणबाट एक हजार २०० भन्दा बढी इजरायलीको मृत्यु भएको थियो र लगभग २५० जनाको अपहरण भएको थियो ।