Logo
Logo

पार्टी संगठनमा अराजकता मौलाएको छ : प्रचण्ड


1.2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र भिन्न मत र आलोचनालाई कुण्ठित नगरिने बताएका छन् । केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

‘हामीले पार्टीमा जसले जे गरेपनि हुने स्थितिको अन्त्य गनुपर्दछ भन्ने सन्देश दिनै पर्नेछ । तर, अनुशासनको पालनाको सन्दर्भमा विधि र पद्धतिसम्मत गरिने बिचार अभिव्यक्ति भिन्न मत वा आलोचनाको स्वतन्त्रतालाई कुण्ठित गरिने छैन’ उनले भने ।

पार्टी अनुशासनको पालनामा कडाइ गर्नु जुनसुकै तहको नेता कार्यकर्ता सदस्य जो भएपनि पार्टीको विधि, पद्धति र निर्णयको अनुशासनको उल्लघंन गर्नेमाथि भने अधिकारप्राप्त निकायले अनुशासनको कारबाही गर्ने उनले बताए । उनले भने, ‘स्वेच्छिक अनुशासनको नाममा संगठनात्मक जीवनमा पालन गर्नुपर्ने अनुशासन उल्लंघन गर्नेले छुट पाउने छैन ।’

पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयताको प्रभावकारी कार्यावयन रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पछिल्लो समयमा यसमा समस्या देखापरेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले भनेका छन्, ‘अहिले पार्टी संगठनमा जनवादमा जोड दिँंदै गर्दा पुँजीवादी जनवाद र अराजकताको अभ्यास मौलाउँदै गएको छ । साथै केन्द्रीयताको अभ्यास वास्तविक जनवादको जगमा आधारित नभएर नोकरशाही केन्द्रीयताको रुपमा अभिव्यक्त हुने गरेको छ ।’ उनले पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयताको सट्टा सामान्य जनवादी पद्धति मुलतः पुँजीवादी जनवादमा खस्कँदै गएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्