काठमाडौं । संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बैठक नै चलाउन नजानेको समितिकै सदस्य हृदयराम थानीले आरेप लगाएका छन् ।
समितिको बैठकमा थानी बोल्दै गर्दा सभापति खतिवडाले रोक्न खोजेपछि थानी झोक्किएर सभापति खतिवडाविरुद्ध आरोप लगाएका हुन् ।
सोमबारको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकको एजेन्डा थियो– समितिमा उपसभामुख इन्दिरा राना, पूर्वगृहमन्त्री रवि लामिछाने र संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयविरुद्ध परेको उजुरी । लामो सयमअघि परेको उजुरीमा हुन लागेको छलफलमा थानीले समितिको कार्यपद्धतिको विषयमा प्रश्न उठाउँदै थिए ।
अख्तियार विधेयक उपसमितिबाट काम सम्पन्न भएर पनि अघि नबढाएको विषयमा थानीले प्रश्न उठाउँदै गर्दा सभापति खतिवडाले बीचैमा हस्तक्षेप गरी विधेयक अघि बढ्ने जवाफ दिएका थिए । त्यसपछि समिति सञ्चालनको प्रक्रिया नै ठिक नभएको भन्दै थानी उनीमाथि खनिएका थिए । राज्य व्यवस्था तथा सुशासन समितिको सभापति भएर काम गरिसकेका थानीले सभापतिको शैलीमाथि प्रश्न उठाउँदै आफू नबोल्ने भनेर सभापतिलाई नै बोल्न अग्रह गरेका थिए ।
“सभापति कति बोल्नुहुन्छ ? म बोल्दिनँ तपाईं बोल्नुस्,” सभापतिले छोट्याउन आग्रह गरेपछि थानीले भने, “जहिल्यै कुरा काटेको छ । बोल्न त पाउनुपर्यो । सबै तपाईंले जान्नुभएको छ । तपाईं नै बोल्नुस् ।”
थानीले सभापति खतिवडाले आफ्नो संयोजकत्वमा रहेको उपसमितिले बुझाएको प्रतिवेदनपछि अख्तियार विधेयक आईसीयूमा पुर्याउन खोजेको आरोप लगाए ।
खतिवडाले भने भर्खरै उपसमितिले प्रतिवेदन बुझाएको भन्दै विधेयक अघि बढ्ने बताएका थिए । थानीले आफू पहिले समिति सभापति भइसकेको व्यक्ति भएको भन्दै सभापतिले बीचमा कुरा काटेकोमा आपत्ति जनाएका थिए । खतिवडाले सबैको सहमतिमा विधेयक अघि बढ्ने बताए ।
पटक(पटकको आग्रहपछि पनि थानीले बोल्न अस्वीकार गरेपछि खतिवडाले सांसद ईश्वरी न्यौपानेलाई समय दिएका थिए । थानी र खतिवडा दुवैजना एकै पार्टी नेपाली कांग्रेसका सांसद हुन् ।