Logo
Logo

बङ्गलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध दोस्रो पटक पक्राउ पुर्जी जारी


882
Shares

एजेन्सी । बङ्गलादेशको एक अदालतले निर्वासित पूर्वनेता शेख हसिनालाई बेपत्ता पारेको आरोपमा दोस्रो पटक पक्राउ पुर्जी जारी गरेको छ ।

विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत भएपछि गत अगस्टमा मित्र राष्ट्र भारतमा निर्वासित जीवन बिताइरहेका ७७ वर्षीया हसिनाविरुद्ध ढाकाले मानवताविरुद्धको अपराधको अभियोगमा यसअघि नै पक्राउ पुर्जी जारी गरिसकेको छ ।

उनको १५ वर्षे कार्यकालमा उनका राजनीतिक विरोधीहरूको सामूहिक हिरासत र गैरन्यायिक हत्याहरू भएको र व्यापक रूपमा मानव अधिकार उल्लङ्घन भएको आरोप लागेको छ ।

घरेलु अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) का मुख्य अभियोजक ताजुल इस्लामले दोस्रो पक्राउ पुर्जी उनको शासनकालमा जबर्जस्ती बेपत्ता पारिएका व्यक्तिहरूसँग सम्बन्धित रहेको बताए ।

बङ्गलादेशी सुरक्षाकर्मीले ५०० भन्दा बढी व्यक्तिलाई गैरकानूनी रूपमा नियन्त्रण गरेका थिए भने तीमध्ये केहीलाई वर्षौंदेखि गोप्य स्थानमा राखिएको थियो ।

पूर्व प्रधानमन्त्री हसिनाले सत्ता छोडेसँगै पीडितहरूले भोगेका कष्टदायी घटनाहरू सार्वजनिक गर्न थालेका छन् ।

‘अदालतले शेख हसिना र उहाँका सैन्य सल्लाहकार, सैनिक कर्मचारी र अन्य कानून प्रवर्तन अधिकारीहरू सहित ११ जनाविरुद्ध पक्राउपूर्जी जारी गरेको छु’,’ इस्लामले पत्रकार सम्मेलनमा भने ।

बङ्गलादेशले गत डिसेम्बरमा भारतलाई हसिनालाई मुद्दाको सामना गर्न फिर्ता पठाउन आग्रह गरेको थियो तर दिल्लीले त्यसको जवाफ दिन अस्वीकार गरेको थियो ।

इस्लामले अदालतले मुद्दाको सुनुवाइ अघि बढाउन चाहेको बताएका छन् । ‘हामी जतिसक्दो चाँडो मुद्दाको सुनुवाइ टुङ्ग्याउन चाहन्छौं, तर यसको अर्थ यो होइन कि हामी कानुन भङ्ग गर्छौं वा उचित प्रक्रिया बिना नै फैसला दिन्छौ’, उनले भने ।

हसिनाको सरकार ढलेपछि उनका दर्जनौं सहयोगीलाई हिरासतमा लिइएको छ । उनीहरूलाई प्रहरी नियन्त्रण र कारबाहीमा संलग्न रहेको आरोप लगाइएको छ । उक्त कारबाहीमा ७०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्