विराटनगर । मोरङका एमाले नेता अनिलकुमार पोखरेलविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।
ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई सोमबार पक्राउ गरी अनुसन्धान गर्न मोरङ अदालतले अनुमति दिएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।
एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै मोरङको रंगेली नगरपालिका २ बस्ने अनिलले सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख रुपैयाँ लिएको आरोप छ ।
पोखरेल सार्वजनिक लेखा समितिमा सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव थिए । पैसा लिएको घटना सार्वजनिक भएपछि स्वकीय सचिवबाट हटाइएको थियो ।
पोखरेलले आफ्नो पहुँच भएको भन्दै अग्नीसाईर कृष्णसवरन गाउँपालिका वडा नम्बर ५ बकधुवा बस्ने बौआलाल चौधरीकी छोरीलाई एमबिबिएस डाक्टर पढाउने आश्वासन दिएको आरोप छ ।
पोखरेलले एमबीबीएसमा छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका– ५ बकधुवा बस्ने ५७ वर्षीय बौवालाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएका थिए । तर पोखरेलले पैसा फिर्ता दिएनन् । उल्टै बौवालाललाई २०७९ साउन ९ गते हिसाब चुक्ता गरिदिन्छु भन्दै बोलाएर ५० लाख रुपैयाँ ऋण लिएको कागज बनाएका थिए ।
आफूलाई जबरजस्ती २०७४ साल असार २५ गते आइतबारको मिति राखेर ऋण लिएको भनि कपाली तमसुक बनाएपछि उनी प्रहरी कार्यालय पुगेका थिए । जबरजस्ती बनाएको तमसुक च्यात्न र ठगी कसूरमा कारवाही गर्न भन्दै जाहेरी दिन प्रहरी कार्यालय गए पनि प्रहरीले जाहेरी दर्ता गरेन् ।
प्रहरीले जाहेरी दर्ता नगरेपछि जबरजस्ती कागज बनाएको ९ दिनपछि १८ साउन २०७९ मा हुलाक मार्फत जाहेरी पठाएका थिए । प्रहरीले जाहेरी नलिएको भन्दै उनले ३१ साउन २०७९ मा ठगी मुद्दामा पोखरेलविरुद्ध जाहेरी दरर्खास्त दर्ता गरी अनुसन्धान गर्न परमादेशको मागसहित रिट निवेदन दर्ता गरेका थिए ।
गत भदौ ३१ गते उच्च अदालत विराटनगरका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलासले पोखरेलविरुद्ध ठगी मुद्दामा परेको जाहेरी दरखास्त दर्ता गरेर आवश्यक कारवाहीको गर्न अन्तिम आदेश दिएको थियो ।