Logo
Logo

प्रधानमन्त्री र आइजिपीले रविको बचाउ गरेको भिडियो इजलासमै देखाइयो 


30.6k
Shares

पोखरा । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा गत मङ्गलवारदेखि जारी छ । 

शुक्रवारदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सुरु भएकामा आज रास्वपा सभापति लामिछाने पक्षका कानुन व्यवसायीहरूको बहस सुरु भएको अदालतका स्रेस्तादार राजन खनालले जानकारी दिए ।

यसअघि सरकारी वकिलले गरेको तर्कलाई खारेज गर्नुपर्ने माग गर्दै सोहीअनुसार आदेश भए न्याय मर्ने तर्क कानुन व्यवसायीले गरेका छन् । लामिछानेका तर्फबाट बहसका लागि पोखरा पुगेका अधिवक्ता यज्ञमणि न्यौपानेकाअनुसार वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता सुशील पन्तलगायतले बहस गरेका थिए ।

उनीहरूले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र प्रहरी प्रमुख वसन्त कुँवरले संसदीय समितिमा दिएको अभिव्यक्तिको भिडियो पनि प्रस्तुत गर्दै राज्यले नियतवश लामिछानेलाई थुनिरहेको बताएका थिए । अधिवक्ता न्यौपानेले राज्यको नियत नै खराब रहेको तर्क गर्दै लामिछानेलाई छाड्नुपर्ने तर्क राखेका थिए ।

कांग्रेस प्रमुख प्रतिपक्षी दल हुँदा तत्कालीन गृहमन्त्री लामिछाने सहकारीको अनियमितमा मुछिएको भन्दै काँग्रेसले राजीनामा मागेको थियो । त्यसबेला एमाले अध्यक्ष ओलीले लामिछानेको बचाउ गरेका थिए । 

२०८० चैत ६ गते धनगढीमा सञ्चारकर्मीसँग उनले भनेका थिए– ‘सहकारीसँग कुनै सम्बन्ध नै नभएका लामिछानेलाई जबरजस्ती बदनाम गराउन खोज्ने ? उनी सहकारीका सञ्चालक हुन् ? केही पनि छैन भने छानबिनमा कसरी प्रभाव पर्छ ?’

त्ययसअिघ ३० फागुन २०८० मा तत्कालीन प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा बैठकमै लामिछानेको बचाउ गरेका थिए । कांग्रेस, जनमोर्चालगायत दलले सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई गृहमन्त्री बनाइएको प्रधानमन्त्रीको जवाफ मागेका थिए । ‘आफूतिर आए प्रधानमन्त्री दिने, नआए भ्रष्टाचारी ?’ तत्कालीन प्रधानमन्त्रीको जवाफ थियो ।

उनले भनेका थिए– ‘तीनै (रवि लामिछाने)लाई प्रधानमन्त्री बनाउन हिँडेको देखिरहेका छौँ, आफूतिर आए प्रधानमन्त्री बनाउन तयार, नआए भ्रष्टाचारी, कारबाही गर्नुपर्छ, यस्तो डबल स्ट्यान्ड ।’

१४ चैत २०८० मा संसद्को राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा  प्रहरी महानिरीक्षक वसन्त कुँवरले सहकारी ठगी प्रकरणमा लामिछानेको विषयमा ठाडो उजुरी मात्र परेको जवाफ दिएका छन् । आइजिपी कुँवरले सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध ठाडो उजुरी परे पनि त्यसमा तथ्य प्रमाण केही नभएको बताएका थिए । 

लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता पन्तसहित रमण श्रेष्ठ र रास्वपा नेतृसमेत रहेकी अधिवक्ता सोविता गौतमलगायतले बहस गर्दैछन् । यसअघि प्रतिवादी लीला पछाईँ र छविलाल जोशी पक्षका कानुनी व्यवसायीहरूले बहस गरेका थिए ।  

सरकारी वकिल र जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले उक्त मुद्दामा बहस गरेपछि प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस चलिरहेको हो । प्रतिवादीहरूको बयान सकिएलगत्तै जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा गत मङ्गलवारदेखि थुनछेक बहस सुरु भएको थियो । 

प्रतिवादीतर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि पुनः सरकारी वकिलका तर्फबाट जवाफी बहस सुरु हुने छ । थुनचेक बहसपछि प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ । 

सभापति लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा मुछिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको छ । 

यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । 

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ। सभापति लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । 

सहकारीको बचत रकम अपचलन गरेको आरोपमा रास्वपा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्