Logo
Logo

स्वास्थ्यमा तीन यादवको रजाईँ


1.1k
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल छोटो समयमै ‘अक्षम’ सावित भएका छन् । कांग्रेसका युवा नेता भनेर चिनिने मन्त्री पौडेल स्वास्थ्य मन्त्रालयमा आएपछि केही सुधार होला भन्ने अपेक्षा स्वास्थ्य मन्त्रालयका कर्मचारीहरुले गरेका थिए तर पौडेल स्वास्थ्य मन्त्री भएपछि गफ बढी, काम कम भएको छ ।

डा. रामदेव यादव, डा.रामआधार यादव र डा. श्यामबाबु यादव

भक्तपुर क्यान्सर अस्पताल मन्त्री पौडेलकै अक्षमताले भाँडभैलो भयो । त्यस विषयमा मिडियाहरुले कुरा उठाए, तर मन्त्रीको कानमा बतास चलेन । पहिलोपटक मन्त्री बनेका पौडेलको यसतो गतिविधिले स्वास्थ्य क्षेत्र निराश बनेको छ ।

पछिल्लोपटक उनले आयुर्वेद क्षेत्रका तीन प्रमुख निकायमा विवादास्पद कर्मचारीलाई प्रमुख बनाएका छन् । आयुर्वेद अस्पताल नरदेवीको प्रमुखमा विवादास्पद डा. रामदेव यादवलाई जिम्मेवारी दिएका छन् । इन्टर्नमा आएका विद्यार्थीहरुबाट सहभागिताका लागि घुस लिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि मुद्दा दर्ता गरेको थियो ।

विशेष अदालतमा सेटिङ गरी मुद्दा जितेका यादवलाई तत्कालीन स्वास्थ्य मन्त्री उपेन्द्र यादवले नरदेवी अस्पतालको प्रमुख बनाएका थिए । दसौं तहका यादव केही महिनाभित्रै अवकाशमा जाँदैछन् । उनले नरदेवीको प्रमुख भएपछि औषधि र सामान खरिदमा ब्यापक अनियमितता गरेका छन् । अस्पतालको मूलगेटमा औषधि पसल राखेका छन् रामदेवले ।

अस्पतालमा आउने बिरामीलाई सोही पसलमा औषधि खरिद गर्न बाध्य पार्ने गरिएको छ । उक्त पसलमा दोब्बर महगोमा औषधि बिरामीलाई भिडाउने गरिएको छ । उनको पसलमा औषधि खरिदका लागि सिफारिस नगर्ने चिकित्सकलाई जिम्मेवारी नै नदिने गरेको आरोप प्रमुख यादवमाथि लाग्दा पनि मन्त्री पौडेलले उनलाई ससम्मान उक्त पदमा राखिरहेका छन् ।

मन्त्री पौडेलको घरमा दिनहुँ बिहानबेलुका नै जाने र श्रीमतीसहितका परिवारलाई औषधि निःशुल्क दिएर उनले अस्पतालमा मनपरी गर्ने छुट पाएका छन् । उनी अस्पतालको अस्पतालको प्रमुख हुनुअघि दैनिक कम्तीमा १ सय बिरामी आउने गरेकोमा उनी आएपछि मुस्किलले दिनमा २५ जनामात्र आउने गरेको नरदेवी अस्पतालका कर्मचारी बताउँछन् ।

रामदेवका कारण अस्पतालको गुणस्तर खस्किएको, आम्दानी दोब्बर भन्दा घटेको तथ्यांक आउँदा पनि मन्त्री पौडेलले उनलाई संरक्षण गर्र्नुको कारण कमिसनको हिस्सा उनीसम्म पुगेको आशंका अस्पतालका कर्मचारीले गर्न थालेका छन् ।

त्यसैगरी, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र विकास समिति कीर्तिपुरको कार्यकारी निर्देशकमा करिब ८ बर्षदेखि ढलीमली गरेका डा. रामआधार यादवलाई मन्त्री पौडेलले पनि च्यापेका छन् । चीनले बनाइदिएको आधुनिक भवनमा अत्याधुनिक सेवा दिन सकिने अवस्था छ । तर उक्त अस्पतालमा बिरामीले उपयुक्त विशेषज्ञ सेवा पाउन सकेका छैनन् भने आयुर्वेद सम्बन्धी अध्ययन अनुसन्धानको काम ठप्प जस्तै छ ।

जबकि, अध्ययन अनुसन्धानका नाममा मन्त्रालयबाट हरेक बर्ष करोडौं बजेट छट्याइएको छ । सो बजेट रामआधारले अध्ययन अनुसन्धानका नाममा उपलब्धिहीन कार्यमा खर्च गर्दैआएका छन् । उनले केन्द्रमा घुस लिंदै अनावश्यक करारमा कर्मचारी भर्ति गरेको आरोप छ ।

पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाका कानुनी सल्लाहकारका आफन्तदेखि कांग्रेस, एमाले र माओवादीका उच्चस्तरका नेताका आफन्तलाई करारमा भर्ति गरी जुन सरकार आएपछि टिक्ने र केन्द्रको बजेटमा मनपरी भ्रष्टाचार गर्न तल्लीन छन् ।

आयुर्वेद विभागका निमित्त महानिर्देशक डा. श्यामबाबु यादवले पनि विभागलाई नेतृत्व गर्न नसकेको आरोप छ । मन्त्री पौडेल आएपछि ११ औं तहका डा. प्रदीप केसीलाई हटाएर दसौं तहका यादवलाई विभागको नेतृत्व दिइएको हो । ११ औं तहका केसीलाई भने सिंहदरबार बैद्यखानामा थन्क्याइएपछि सामाजिक संजालमा उनले असन्तुष्टि ब्यक्त गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्