काठमाडौं । सशस्त्र प्रहरी मूख्यालयले मधेश प्रदेश (छिन्नमस्ता बाहिनी)का डीआईजी कालीदास धौबजीलाई काठमाडौं बोलाएर १५ दिनको अल्टिमेटम दिइएको छ । ८ महिनाअघि गएको बैशाख १८ मा मधेश प्रदेशमा सरुवा भएका धौबजीलाई सर्लाही र सिराहको घट्नालाई लिएर काठमाडौ बोलाएर तस्करी रोक्न १५ दिने अल्टिमेट दिइएको छ ।
सर्लाहीमा बा प्र ०१–००६ ख २००४ नम्बरको बस अनियन्त्रित भई पल्टिँदा ड्युटीमा रहेका प्रहरी निरीक्षक विजयकुमार तुलाधरको ज्यान गएको र गएको मंसिर १६ गते तस्करीको मदिरा बोकेको गाडीले सिरहाको बडहरी बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक (सई) लक्ष्मणप्रसाद यादवलाई किचेर मारेको विषयमा बुझ्न भन्दै धौबजीलाई काठमाडौं झिकाएको थियो ।
मदिरा तस्करी रोक्न खोज्दा सईलाई भारतीय नम्बरको गाडीले किचेर मारेको थियो । मदिरा तस्करहरुको कनेक्सन बाहिनीपतिसम्म रहेकाले उनलाई छानबिनका लागि तानिएको भएपनि अहिले फिर्ता गरिएको छ । नेपाल–भारत सीमाक्षेत्र बरियारपट्टी गाउँपालिका–१ कचनारीमा मंसिर १६ गते बिहान मदिरा तस्करले सई यादवको किचेर हत्या गरेका थिए । त्यसैगरी सशस्त्र प्रहरी निरीक्षक तुलाधरलाई किच्ने बसमा भेप भेटिएको थियो । ‘ तुलाधरलाई किच्ने बसभित्र केही कार्टुन भेप समेत भेटिएको थियो’, स्रोतले भन्यो । यो विषयमा सर्लाही प्रहरीले अनुसन्धान गरिरहेको छ ।
त्यसैगरी गस्तीमा खटिएका यादवले मदिरा बोकेको जिपलाई रोक्ने क्रममा उनलाई ठक्कर दिएर भागेको थियो । सिरहाबाट मदिराको तस्करी ब्यापक हुँदैआएको र बाहिनीमै सेटिङ गरी तस्करी गर्दैआएका थिए । गाडीले ठक्कर दिएर मृत्यु हुनुअघि सई यादवले डीआईजीले मदिरा तस्करी नरोक्न दबाब दिएको कारण दुर्घटना भएको भन्दै सशस्त्र प्रहरीमा गुनासो आएपछि धौबजीलाई झिकाइएको थियो ।
मधेश प्रदेशअन्तर्गतका जिल्लाबाट तस्करी बढेको र राजस्व असुलीमा असर परेको सूचनाका आधारमा धनुषा, बाराका गण र गुल्मदेखि बीओपीको इन्चार्जहरु पनि छानबिनका लागि तानिएका थिए ।
सशस्त्र प्रहरी १२ नम्बर गण बाराका सन्तोषबहादुर सिंह र ८ नम्बर गण धनुषाका दर्शन गिरी तानिएका थिए । उनीहरुलाई पनि १५ समयसीमा दिएर डिआइजीको जिम्मा लगाइएको छ । तस्करी बढेको ब्यापक गुनासोपछि बाराका एसपी सिंहमात्र होइन, २ वटा गुल्मका डीएसपी पनि तानिएका छन् ।
प्रस्तावित गुल्म मटिअर्वा बाराका डीएसपी बिदुर भट्टराई र पिपरपाती गुल्मका राजीव थापा तानिएका छन् । महोत्तरी सम्सी बीओपीका कृष्णबहादुर गुरुङ, धनुषाको फुलगामा बीओपीका गणेशकुमार बोहरा पनि तानिएका थिए । उनीहरुमाथि अहिले पनि छानवीन चलिरहेको छ ।