काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा आएका प्रहरी निरीक्षकमध्ये नेपाल प्रहरीका ५ जना वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायव महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस हुँदा पहिलो नम्बरमा देखिएका ओमबहादुर राना छुटेका छन् । गत साता बसेको बढुवा समितिको बैठकले रिक्त ५ डीआईजीमा सिफारिस गर्दा उनी छुटेका हुन् ।
एसएसपीको पहिलो नम्बरमा भए पनि विवादित भएका कारण मानव बेचविखन अनुसन्धान ब्यूरोका प्रमुख सजायस्वरुप राना भने बढुवामा छुटेका छन् । राष्ट्रिय अनुसन्धान विभागबाट पछि नेपाल प्रहरीमा आएका राना विगतमा पटक–पटक कारबाहीमा परेका थिए । सोही कारण बढुवा समितिले उनलाई छुटाएर २०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका टोलीबाट क्रमशः बढुवा सिफारिस गरेको छ ।
बढुवा सिफारिस हुनेमा ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया छन् । पहिलो नम्बरमा डीआईजीमा सिफारिस भएका कार्की प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत छन् । भट्ट कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, आचार्य लागुऔषध नियन्त्रण ब्यूरो, पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोग र थपलिया मानवस्रोत विकास विभाग, वृत्ति विकास महाशाखामा कार्यरत छन् ।
राना २०६६ भदौ २१ गते कारबाहीमा परेका थिए । त्यतिबेला उनलाई २ वर्षका लागि बढुवा रोक्का गरिएको थियो । त्यसको दुई वर्षपछि फेरि कारबाहीमा परे । २०६८ मंसिरमा २ ग्रेड २ वर्षका लागि रोक्का गरिएको थियो । २०७८ असार १३ गते पनि उनलाई विभागीय कारबाही भएको थियो । रानाकै ब्याचीहरु भने यसअघि दुई चरणमा डिआइजी बढुवा भइसकेका छन् । आगामी चैतमा तीमध्ये केही एआइजी बन्नेछन् ।
तत्कालीन समयमा एसपी हुँदा नै प्रदेश प्रहरी कार्यालय लुम्बिनीले गठन गरेको छानबिन समितिले जिल्ला प्रहरी कार्यालयको घुमुवा प्रहरी टोलीले नै प्रयोग गरेर रकम असुली गरेको खुलेको थियो । त्यतिबेला डुडुवा– ६ हिलमिनियाबाट सालको काठसहित निसार खाँलाई पक्राउ गरेको थियो । पक्राउ परेपछि उनी हत्कडीसहित भागेको भनेर माथिल्लो निकायलाई खबर गरिएको थियो । तर, प्रहरीले बरामद गरेको उनको मोटरसाइकल तथा मोबाइल पनि फिर्ता भएपछि घटना शंकास्पद बनेपछि एसपी रानामाथि शंका गरिएको थियो ।
रसुवामा जिल्ला प्रमुखका रुपमा काम गर्दा रक्तचन्दन तस्करीमा मिलेमतो देखिएपछि रानामाथि विभागीय कारबाही भएको थियो ।
सोही घटनामा सेनाका कर्णेल बर्खास्त हुँदा उनलाई भने राजनीतिक पहुँचको आधारमा सामान्य कारबाही गरेर जोगाइएको थियो । विवादास्पद पृष्ठभूमि भए पनि दबाबकै भरमा कास्की, बाँकेजस्ता जिल्लाको इन्चार्ज दिइएको थियो । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरालाई आर्थिक प्रभावमा पारेर उनले महत्वपूर्ण जिल्लाको इन्चार्ज पाउँदै आएका थिए । पछिल्लोपटक मानव बेचबिखन व्यूरोमा हुँदा पनि उनले ठमेलका स्पाहरुमा पुगेर मानिस उठाउन थालेपछि कारवाही गर्ने चेतावनी दिइएको थियो ।