Logo
Logo

सिआइबीलाई यातायात डिजीले टेरेनन्


5.9k
Shares

काठमाडौं । नक्कली सवारी लाइसेन्स प्रकरणमा अनुसन्धान गरिरहको नेपाल प्रहरीलाई यातायात व्यवस्था विभागले अटेरी गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले मागेको नक्कली लाइसेन्ससम्बन्धी विवरण उपलब्ध नगराई अटेर गर्न थालेको हो । विभागका महानिर्देशक राजीव पोखरेलले व्यूरोलाई कुनै पनि विवरण उपलब्ध गराउन मानेको छैनन् । तत्कालीन महानिर्देशक उद्धव रिजालको सरुवापछि पुगेका पोखरेलले नक्कली लाइसेन्सको छानवीनलाई रोक्ने प्रयोजननका लागि यसो गरिरहेको स्रोतको दावी छ ।

सो प्रकरणमा जोडिएका कर्मचारीहरुलाई अहिले विभागमा लगेपछि नक्कली लाइसेन्सको अनुसन्धन ठप्प भएको छ । नक्कली जोडिएका उपसचिवलाई लाइसेन्स जारी गर्ने यातायात व्यवस्था विभागमै सरुवा गरिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृतमा छानबिन गरिरहेको वेला त्यसै प्रकरणमा जोडिएका उपसचिवलाई विभागमा सरुवा गर्दा अनुसन्धानमा बाधा पुगेको बताइएको छ ।

गत ३१ भदौमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यरत राजकुमार महर्जनलाई भौतिक पूर्वाधार वा अन्तर्गत सरुवा गरेपछि प्रकृयामा अवरोध आएको थियो । मन्त्रालयबाट उनलाई यातायात व्यवस्था विभागमा ल्याउन लागिएको छ । मन्त्रालयअन्तर्गत विभागमा मात्रै सूचना प्रविधि उपसचिवको दरबन्दी छ ।

महर्जन नक्कली लाइसेन्स प्रकरणमा छानबिनमा रहेका कर्मचारी हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)समेत संलग्न रहेर यसअघि विभागले गरेको आन्तरिक छानबिनले पछिल्लो १० वर्षको अवधिमा एक लाख दुई हजार नक्कली सवारी लाइसेन्स जारी भएको निष्कर्ष निकालेको थियो । विभागकै छानबिनसमेतका आधारमा सिआइबीले दुईवटा मुद्दा अभियोजन गरिसकेको छ भने थप अनुसन्धान गरिरहेको छ ।

नक्कली लाइसेन्स छानबिनमाथि अख्तियारले विस्तृतमा छानबिन गरिरहेको वेला त्यसै प्रकरणमा जोडिएका उपसचिवलाई विभागमा सरुवा गर्नुले अनुसन्धानमा बाधा पु¥याउने र कमजोर बनाउन थालिएको छ । नक्कली लाइसेन्स छानबिन गर्न गठित समितिले नक्कली लाइसेन्स सम्बन्धमा महर्जनको समेत बयान लिएको थियो । महर्जन ०७० देखि ०७५ सम्म विभागको सूचना प्रविधि शाखामा कम्प्युटर इन्जिनियरका रूपमा कार्यरत थिए । यही अवधिमा धेरै नक्कली लाइसेन्स जारी भएका थिए । नक्कली लाइसेन्स जारी हुने गैरकानुनी काम सुरु भएको सुरुदेखि नै महर्जन विभागमा थिए ।

विभागको सूचना प्रविधि शाखाको प्रमुखकै जिम्मेवारीमा अहिले महर्जनलाई सरुवा गरिएको छ । विभागमा हालसम्म कार्यरत मुकेश रेग्मीलाई सञ्चार मन्त्रालय लगिएको छ ।छानबिन समितिले छानबिनका क्रममा सूचना प्रविधि शाखामा विगतमा कार्यरत कर्मचारीहरू कम्प्युटर इन्जिनियर महर्जनसहित सन्तोष पोखरेल, सुरजप्रकाश अर्याल तथा सूचना प्रविधि निर्देशक पवित्र डंगोलसँग बयान र सोधपुछ गरेको थियो । यसमध्ये अर्यालविरुद्ध भने यसअघि नै मुद्दा दायर भइसकेको छ ।

लाइसेन्स नभएका चालकले चलाएको कारले ठक्कर दिएर पैदल यात्रुको ज्यान गएपछि चालकलाई नक्कली लाइसेन्स दिइएको घटनामा संलग्न भएको आरोपमा सिआइबीले गत ७ जेठमा अर्यालसहित सातजनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । मुद्दा विचाराधीन छ । नक्कली युजर सिर्जना गर्नेलगायतका कार्य गरी फर्जी लाइसेन्स जारी गर्न सघाएको आरोप महर्जनमाथि छ । महर्जन सूचना प्रविधिसम्बन्धी ठेक्काहरूमा विवादित कर्मचारी हुन् ।

प्रतिक्रिया दिनुहोस्