Logo
Logo

ओली-प्रचण्ड एक सिक्काका दुई पाटा


567
Shares

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच सत्ताकै कारण तल्लो स्तरमा आरोप प्रत्यारोप चलिरहेको छ । अझ भन्ने हो भने माओवादी सरकारबाट बाहिरिएपछि ओली–प्रचण्डको इगो दिनप्रतिदिन बढ्दै छ ।

ओली–प्रचण्डको व्यक्तित्व टकराबका कारण आगामी चुनावमा जसरी पनि एकले अर्कालाई कमजोर बनाउने रणनीति लिएका छन् । जसले गर्दा वाम आन्दोलन कमजोर बनेको छ । मिसन ८४ लाई मध्यनजर गरेर भए पनि वाम शक्ति अहिलेदेखि एक ठाउँमा उभिनु पर्नेमा शत्रुतापूर्ण सम्बन्ध हुनुलाई कसैले पनि राम्रो मानेका छैनन् ।

प्रचण्डलाई कमजोर बनाउन सके माओवादीका धेरै नेता कार्यकर्ता एमालेमै फर्किन्छन् भन्ने ओलीको सोचाइ गलत छ । त्यसैगरी गठबन्धन गरेर हुन्छ या के गरेर हुन्छ ओलीलाई आगामी आम चुनावपछि कुनै हालतमा सत्तामा पुग्नबाट रोक्ने र कमजोर बनाउने प्रचण्डको रणनीति छ । दुवै के निष्कर्षमा पुगेका छन् भने एउटालाई कमजोर नबनाई अर्को बलियो बन्न सक्दैन । यतिबेला दुवै अध्यक्ष केन्द्रीय कमिटीको बैठकमार्फत एकले अर्कालाई हिलो छ्याप्न उद्धत छन् ।

तर, पछिल्लो अवस्थालाई हेर्ने हो भने ओली र प्रचण्डको व्यवहार र उनीहरूले अपनाएको शैली अनि पार्टी चलाउने तरिका धेरैमा समानता छ । यसको सुरुवातकर्ता प्रचण्ड नै हुन् । जसले साढे ३ दशकदेखि यस्तै अभ्यास गर्दै आएका छन् ।

भूमिगतकाल अनि खुला राजनीतिमा आएपछि प्रचण्डले अपनाएको शैली र ओलीले पार्टी अध्यक्ष अनि संसदीय दलको नेता बनेपछि अपनाएको शैली उस्तै छ । त्यति मात्रै होइन दुवैको राजनीतिक दम्भका कारण भएका दुर्घटना पनि धेरै मिल्दाजुल्दा छन् । तर पनि एकले अर्कालाई गाली गर्ने र गालीगलौजको राजनीतिमा दुवै अभ्यस्त रहेका छन् ।

ओलीले आफूबाहेक पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्ने मौका पार्टीमा अरूलाई दिएनन् । तर पहिलो संविधान सभाको कार्यकालमा प्रचण्डले बाध्यतावश बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाएका थिए । ओली प्रधानमन्त्री भएको बेला दुई–दुई पटक प्रतिनिधि सभा विघटन गरे ।

माओवादी नेतृत्वमा सरकार भएको बेला संविधान सभा विघटन भयो । कांग्रेस र एमालेले काम गर्न नदिएका कारणले संविधान सभा असफल भएको प्रचण्डको दाबी थियो । प्रचण्डले एकल बहुमत मागेर दोस्रो संविधान सभामा भाग लिएका थिए । पछिल्लो पटक ओलीले पनि एकल बहुमत ल्याउने भन्दै निर्वाचनको माग गरेका थिए । अहिले ओली सरकारमा छन् प्रचण्डले एक्लै चुनाव लड्ने भन्दै केन्द्रीय कमिटीमा आफ्नो धारणा राखिरहेका छन् ।

केन्द्रीय कमिटी बैठकमा एमाले अध्यक्ष ओलीले लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्याउने कार्यले पार्टी बलियो नहुने तर्क अघि सारेका छन् । ‘पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नैपर्छ । लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्याउने कार्यले पार्टीलाई बलियो बनाउँदैन,’ ओलीले केन्द्रीय कमिटी बैठकमा भनेका छन्, ‘बहकामा लागेर होइन, एउटै नीतिगत लयमा पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर हामी अगाडि बढ्न सक्नुपर्छ ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि सोही शैलीमा पार्टीभित्र अराजकता र गुटबन्दी बढेको भन्दै असन्तुष्टि पोखेका छन् । पार्टी अहिले त्यति राम्रो बाटो नहिँडेको टिप्पणी गर्दै उनले भनेका छन्, ‘पार्टी अराजकतातिर, गुटबन्दीतिर, व्यक्तिगत स्वार्थतिर केन्द्रीय हुँदै गएको छ । हामीले हाम्रो वर्ग र विरोधी वर्गको भेदलाई मेटाउने खालका कयौँ काम गरेका छौँ, त्यो गलत छ ।’

पार्टी पङ्तिलाई लक्षित गर्दै प्रचण्डले माओवादी नेता कार्यकर्ता र बिचौलिया तथा दलाल पुँजीपतिहरूको भेद बिस्तारै मेटिन खोजेको मात्र भनेनन्, कांग्रेस–एमालेभन्दा भिन्न हुन नसकेको टिप्पणीसमेत गरे । तर उनीहरू दुवै आफूमा सुधार गर्न सकिरहेका छैनन् ।

प्रचण्डले शासन सत्ता गुमाए भनेर उनका समर्थकले रुवाइ–धुवाइ गर्नु र कांग्रेस–एमाले समर्थकले भोजभतेर गर्नुको कुनै तुक देखिँदैन । उनीहरू दुवै परीक्षण भइसकेका खेलाडी हुन् । एकल बहुमतको सरकार दुवै पार्टीका यिनै नेतृत्वले टिकाउन सकेनन् ।

ओली–प्रचण्ड दुवै आफू सुप्रिमो भएको देखिन र देखाउन चाहन्छन् । उनीहरूले नेता कार्यकर्तालाई आदर्शको उपदेश दिने तर आफ्नो व्यवहारमा भने निरंकुश शैलीको निरन्तरता दिइरहेका छन् । जसले गर्दा नेपालको वामपन्थी आन्दोलन दिनानुदिन धराशयी मात्र भएको छैन, नेता कार्यकर्तालाई असली दास उत्पादन गर्ने कारखानाको रूपमा विकास गरिरहेका छन् ।

समस्या औँल्याउने र समस्याको जरोमा केन्द्रीय नेताहरू पुग्न खोजे पनि नेतृत्वमा रहेका दुई शीर्ष नेताहरू ओली–प्रचण्ड सधैँ बाधक बनिरहेका छन् । उनीहरूको सत्तामोह र सत्तामा रहिरहने चाहनेले अन्ततः नेपालको वाम राजनीति बिस्तारै पलायनतर्फ उन्मुख भइरहेको छ ।

माओवादी अध्यक्ष प्रचण्डले एमालेले शान्ति प्रक्रिया निष्कर्षमा पु¥याउन नचाहेको आरोप लगाउँदै कांग्रेस र माओवादीले दबाब दिनुपर्ने उल्लेख गरेका छन् । कांग्रेस–एमालेले संविधान संशोधन अघि बढाए माओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, गैरसांसदबाट मन्त्री नियुक्त हुनुपर्ने, महिला, दलित र मुस्लिमलाई विशेषाधिकार दिनुपर्ने प्रस्ताव केन्द्रीय समितिमा गरेर यसलाई टुङ्ग्याउन चाहेको देखिन्छ । तर प्रचण्डको यस्तो मागलाई सुन्ने अवस्थामा ओली छैनन् । जसले गर्दा वामपन्थी एकीकरणमा दुवै नेताहरू बाधक रहेको स्पष्ट हुन्छ ।

दुई पार्टीको अलग अलग बसिरहेको केन्द्रीय कमिटीको ओली र प्रचण्डले गरेको सम्बोधन हेर्ने हो भने दुई नेता एक अर्काप्रति पूर्वाग्रही देखिन्छन् । फरक यति हो कि, ओलीले लिखित रूपमै आलोचना गरेका छन् भने प्रचण्डले मौखिक रूपमा । एकले अर्कालाई अटेर गर्ने र राष्ट्रिय राजनीतिमा आफ्नो स्पेस कायम राख्न दुवै नेताहरू लागिरहेका छन् ।

एमाले अध्यक्षसमेत रहेका ओलीले प्रचण्डलाई अवसरवादी नेताको रूपमा चित्रण गरेका छन् । प्रचण्डको अवसरवाद, अस्थिर सोच, आडम्बर र दाउपेचकै कारण दुई ठुला दलबिच बाध्यात्मक समीकरण बन्न पुगेको आरोप लगाएका छन् ।

राजनीतिक स्थायित्व, सुशासन र विकास तथा जनतामा आशा–भरोसा जगाउन आफूहरूले गरेको इमानदार प्रयास प्रचण्डकै कारण सफल हुन नसकेको आरोप ओलीको छ । ओलीले ०७९ को चुनावमा कुनै पनि दलले बहुमत नल्याएपछि राजनीतिक स्थायित्वका लागि काङ्ग्रेससँग समीकरण गर्ने प्रयास गरेको तर सफल नभएपछि माओवादीसँग मिल्ने बाध्यात्मक विकल्प छनोट गरेको बताएर वामपन्थीहरूको एकतामा प्रचण्ड बाधक रहेको दाबी गरेका छन् ।

त्यसपछि पनि आशंका हुँदाहुँदै दोस्रो पटक गत फागुनमा माओवादीलाई उदारतापूर्वक सहयोग गरेको तर धोका पाएपछि काङ्ग्रेससँग सहकार्य गर्नुपरेको र ०७९ पुस १० मा बनेको एमाले–माओवादी गठबन्धन दुई महिनामै भत्किएको विषयमा पनि ओलीले प्रचण्डलाई दोषी देखाएका छन् ।

त्यसैगरी प्रचण्डले देशमा सबैभन्दा बढी जाली, झेली, कपटी, बेइमानीको आरोप लगाएर झन् चिढ्याएका छन् । प्रचण्डले गिरीबन्धु टी–स्टेटमा ओलीले गरेको बदमासीको पर्दाफास गरेरै छाड्ने बताएर ओलीलाई बिच्काउँदै आएका छन् ।

‘गिरीबन्धु, ओम्नी लगायतका काण्ड छानबिन गरेरै छाड्ने प्रतिबद्धता प्रचण्डले पटक पटक दोहो¥याउँदै आएका छन् । मलाई प्रधानमन्त्रीबाट जबरजस्ती, अलोकतान्त्रिक, तानासाही तरिकाले हटाइएको छ, भ्रष्टाचारीमाथि कारबाही गर्ने भयो भनेर नै हो । किन भने मेरो सुई अब गिरीबन्धुतिर जाँदै थियो । गिरीबन्धुतिर जाने भनेको ओलीतिर जाने भनेको हो, अध्यक्ष प्रचण्डले भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि बूढानीलकण्ठतरि सोझिएपछि नेपाली कांग्रेसका सभापति आतंकित भएका छन्’, प्रचण्डले भन्ने गरेका छन् ।

जसका कारण बेला बखत यी नेताहरू शक्तिमा रहँदासम्म वामपन्थी एकताको नारा नदीको दुई किनार जस्तो एक आपसमा कहिल्यै भेट हुँदैन कि भन्ने आशंका सर्वत्र रहेको छ । अस्थिर राजनीतिक व्याख्या र स्पष्ट अडान नभएका कारण दुवै नेताहरू समकालीन राजनीतिक पार्टीहरूमा मात्रै होइन, आफ्नै पार्टी समर्थकहरूमा समेत विश्वसनीय बन्न सकिरहेका छैनन् । पछिल्लो पटक एमाले र अहिले माओवादी पार्टी वैचारिक र सैद्धान्तिक धरातल पनि साह्रै कमजोर देखिँदैछ । पछिल्लो समय एमाले र माओवादी नेताहरूओली र प्रचण्डकै कारण जनमुखी बन्न सकेका छैनन् ।

व्यक्तिवादी, पदवादी, गुटवादी, पदलोलुप भएका छन् । केन्द्रमा बसेर गुट बनाएर नेतृत्वसँग बार्गेनिङ गर्ने प्रवृत्ति पार्टीमा झाँगिँदै गएको छ । केन्द्रदेखि जिल्लासम्म दुवै नेताहरूकै कारण सबै सङ्गठन अहिले पनि भद्रगोल अवस्थामा छन् ।

सङ्गठन निर्माणका लागि खट्ने नेता–कार्यकर्ता यतिखेर गाउँमा छैनन् । सबै शहरमुखी बनेका छन् । कसरी जनतामा जानेभन्दा पनि कसरी पार्टीमा आफूलाई स्थापित गराएर फाइदा लुट्ने भन्नेमा नै नेता–कार्यकर्ताहरू बढी केन्द्रित हुन ओली र प्रचण्डकै प्रेरणा रहेकाले एमाले र माओवादीको विकल्पमा हिरोइज्योम खोज्ने दलहरूको उदय हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्