काठमाडौं, ३ असार ।
नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीको बैकबाट बैंक ग्यारेन्टी वापतको रकम फिर्ता पाएको छ । मंगलबार बैंकले ८७ लाख ४९ हजार यूरो अर्थात् करिब एक अर्ब १५ करोड रुपैयाँ पाएको बैंकका एक उच्च अधिकारीले बताए । थप ८५ करोड रुपैयाँ बैंकले बुधबार पाउँदैछ ।
तनुहँ हाइड्रोपावरको ठेक्का पाएको इटालियन निर्माण कम्पनी कोअपरेटिभा मुराटोरी ए सेमेन्टिस्टी (सिएमसी)को पर्फमेन्स ग्यारेन्टीवापतको पैसा बैंकले फिर्ता पाएको थियो । गत साता मात्र त्यससम्बन्धि मुद्दाको इटालीको अदालतमा फैसला भएको थियो । जून मुद्दा इन्भेष्टमेन्ट बैंकले जितेको थियो । इटालीको इन्टेसा सानपाओलो बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकलाई काउन्टर ग्यारेन्टी दिएकोमा मुद्दा फैसलापछि सोही बैंकले पैसा फिर्ता दिएको हो ।
सिएमसीले हालेको मुद्दामा इटालीको बोलोङ्नास्थित ट्राइब्युनल डे बोलोङ्नामा तीनजना न्यायाधीशको पूर्ण इजलासले गत मंगलबार बैंकको पक्षमा फैसला गरिदिएका हो । यसअघि गत सोही ट्राइब्युनलको एकल इजलासले इन्भेष्टमेन्टलाई रकम दिनुनपर्ने भनी गरेको फैसला उल्टाइदिएको हो ।
तनहुँ हाइड्रोपावरको ठेक्का पाएको सिएमसीका तर्फबाट ग्यारेन्टी बसेको इटालीको इन्टेसा सानपाओलो बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकलाई काउन्टर ग्यारेन्टी दिएकोमा मुद्दा परेपछि ग्यारेन्टी फिर्ता हुन सकेको थिएन ।
इटालीको बैंकको तर्फबाट इन्भेष्टमेन्ट बैंकले ८५ करोड १४ लाख १६ हजार १ सय २७ नेपाली रुपैयाँ र ८७ लाख ४९ हजार २ सय ४९ युरो (अहिलेको विनिमय दरअनुसार १ अर्ब १७ करोड रुपैयाँ)को काउन्टर ग्यारेन्टी राखेको थियो । मुद्दा जितेलगत्तै बैंकले पैसा फिर्ताका लागि पहल गरेको थियो ।
नेपालमा मेलम्ची खानेपानी आयोजनासमेत बनाइरहेको सिएमसीले असोज २०७५ मा तनहुँ हाइड्रोपावरको समेत ठेक्का पाएको थियो । सो ठेक्कामा इटालीको बैंकको तर्फबाट इन्भेष्टमेन्ट बैंक सोही वेला काउन्टर ग्यारेन्टी बसेको थियो । तर, मेलम्चीको काम छोडेर सिएमसी भागेपछि फागुन २०७५ मा तनहुँले समेत ठेक्का तोडेको थियो । ठेक्का तोडिएपछि तनहुँ हाइड्रोको ग्यारेन्टीबापतको रकम इन्भेष्टमेन्ट बैंकसँग तानेको थियो । सोहीबमोजिम इटालियन बैंकका तर्फबाट इन्भेष्टमेन्टले सो रकम तनहुँ हाइड्रोपावरलाई भुक्तानी गरिदिएको थियो ।
तनहुँ हाइड्रोले सम्झौताको पालना नगरेकाले पर्फमेन्स ग्यारेन्टीको रकम भुक्तानी रोकिदिन भन्दै सिएमसीले ट्राइब्युनलमा मुद्दा हालेको थियो । सुरुको सुनुवाइमा ट्राइब्युनलको एक सदस्यीय इजलासले सिएमसीलाई जिताइदिएका थिए । इन्भेष्टमेन्टले ग्यारेन्टी बसेको इटालियन बैंक इन्टेसा सानपाओलोले ट्राइब्युनलले रकम भुक्तानी नगर्न आदेश दिएको भन्दै रकम भुक्तानी गर्न अस्वीकार गर्दै आएको थियो । प्छि नेपाल इन्भेष्टमेन्ट बैंक पुनरावेदनमा गएकोमा उसले मुद्दा जितेको हो ।
ठूलो रकम पाएपछि नेपाल इन्भेष्टमेन्ट बैंकलाई ठूलो राहत मिलेको छ । देशको एक नम्बरको बैंकको छवी कायम राख्न सहज भएको बैंकका एक अधिकारी बताउँछन् ।