काठमाडौं । भारतको गुजरात स्टेट भलिबल एसोसिएनलाई हराउँदै नेपाल पुलिस क्लब इन्डो–नेपाल रनिङ शिल्ड भलिबलको फाइनलमा पुगेको छ ।
बुटवलको रामनगर खेलमैदानमा आज भएको पहिलो सेमिफाइनलमा पुलिसले गुजरातलाई ३–१ को सेटमा हरायो । गुजरातले पहिलो सेट २७–२५ ले जितेको थियो । त्यसपछि पुलिसले दोस्रो सेट २५–१४, तेस्रो सेट २५–२१ र चौथो सेट २७–२५ ले जित्यो । पुलिस समूह ‘ए’ को विजेता र गुजरात समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थिए ।
इन्डो–नेपाल रनिङ शिल्ड भलिबलको दोस्रो सेमिफाइनलमा अहिले त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लब खेल्दै छन् । आर्मी समूह ‘बी’ को विजेता र मणिमुकुन्द समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ ।