काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीयतालाई बलियो बनाउनका लागि प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने गरी कानुन बनाउनुपर्ने बताएका छन् ।
संघीयता सबलीकरणका सन्दर्भमा मङ्गलवार ललितपुरमा आयोजित कार्यक्रममा थापाले सबै तहलाई अधिकार सम्पन्न बनाएर संघीयता कार्यान्वयन गर्नुपर्ने र अधिकार सम्पन्न बनाउँदा पनि काम गर्न नसके समाधानको उपाय खोज्नुपर्ने बताएका हुन् ।
अहिले ठुला दल मिलेर सरकार गठन भएकाले सदनबाट कानुन बनाउन सहज हुने भएकाले संघीयता कार्यान्वयनसम्बन्धी कानुन बनाउन ढिलाइ गर्न नहुने उनको भनाइ छ ।
महामन्त्री थापाले पुराना र नयाँ भनिएका दलहरू समेत संघीयताप्रति उदार भने हुन नसकेको जिकिर गरे । उनले संविधान संशोधनका लागि आवश्यक विषयमा खुला रूपमा बहस र छलफल हुने भएकाले यसप्रति कसैले शंका गर्न नपर्ने बताए ।
उनले सरकारमा गएकाहरूले पनि अधिकारलाई मुठ्ठीमा राख्ने गरेकाले संघीयता नै दुर्घटनामा पर्ने देखिएको बताए ।