काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन तत्काल नहुने बताएका छन् ।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक समापन गर्दै अध्यक्ष एवं प्रधानमन्त्री ओलीले २०८७ सालमा मात्रै संविधान संशोधन हुने बताए । उनले भनेका थिए, ‘संविधानमा केही त्रुटि छन्, संशोधन गर्नुपर्नेछ । तर ०८७ मा मात्रै हुन्छ ।’
प्रधानमन्त्री ओलीले ८७ सालमा संविधान संशोधन भनेपछि केही नेताले त्यसलाई सच्याउने गरी ‘८३ साल होला’ भनेका थिए । तर प्रधानमन्त्री ओलीले दोहोर्याएरै भने, ‘मैले ०८७ सालमै भनेको ।’
राष्ट्रियसभाको कारण अहिले संविधान संशोधन हुन नसक्ने ओलीको तर्क थियो । उनले भने– ‘हामी अहिले पनि संविधान संशोधन गर्न चाहिने दुई तिहाइ जुटाउने पक्षमा छौँ । तर राष्ट्रिय सभाका कारण सम्भव भइरहेको छैन, संविधान संशोधन त गर्ने नै हो । तर ०८७ मा ।’
गत असार १७ गते मध्यराति नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता गठबन्धन बनाएर सरकार गठन गर्ने सातबुँदे समझदारी बन्यो । सात बुँदामध्ये मुख्य बुँदा थियो — संविधान संशोधन । दुई ठूला दलहरूले संविधान संशोधनको विषय उधिनेपछि त्यसमाथि स्वाभाविक रूपमा अनेकन् कोणबाट बहस, छलफल र तर्क–विकर्त भए ।
तर, बिस्तारै त्यो सेलाएर गयो । संशोधनका प्रस्तावकर्ता दलहरू कांग्रेस–एमाले पनि मौन बसे । अहिलेसम्म पनि उनीहरू चुपचाप नै बसिरहेका छन्, औपचारिक रूपमा छलफल आरम्भ गरेका छैनन् । जबकि, विषयले प्रवेश पाएको छ महिना गुज्रिसकेको छ ।