काठमाडौं । भाटभटेनी सुपर मार्केटद्वारा प्रवर्द्धित एग्रीवस्तु कोल्ड स्टोरले किसान, किसान समूह, र कृषि सहकारीसँग समन्वय गर्दै तरकारी खरिद गर्न थालेको छ ।
एग्रीवस्तु चिस्यान केन्द्रले चितवन र धादिङमा उत्पादित तरकारी र फलफूल खेर जान नदिन किसानहरूसँग सहकार्य गर्दै उत्पादनको खरिद र भण्डारण सुरु गर्ने जनाएको छ ।
केन्द्रले पहिलो चरणमा ५ सय मेट्रिक टन (५ हजार क्विन्टल) गाजर खरिद गरी बजारमा पठाउने र भण्डारण गर्ने तयारी गरेको छ । चिस्यान केन्द्रका प्रबन्ध निर्देशक आशिष शर्माका अनुसार चितवन र धादिङका किसानहरूका लागि यो पहलले ठूलो राहत पुर्याउने छ ।
तरकारी मात्र नभई चिस्यान केन्द्रले हाल सुन्तला र जुनारको बिक्री वितरण र भण्डारणसमेत सुरु गरेको छ । करिब २ सय मेट्रिक टन सुन्तला र जुनार स्याङ्जा, पाल्पा, गोर्खा, र सिन्धुली लगायतका जिल्लाहरूबाट खरिद गरिएको छ । खरिद गरिएका फलफूल र तरकारी प्रशोधन गरेर मात्रै बजारमा पठाइने व्यवस्था गरिएको शर्माले जानकारी दिए ।