काठमाडौं । मंगलबार बिहान गएको भूकम्पबाट १२६ जनाको मृत्यु भएको छ । तिब्बतको डिंग्री काउन्टी केन्द्रविन्दु बनाएर मंगलबार बिहान ६.८ म्याग्नेच्युडको भूकम्प गएको थियो । सो भूकम्पमा परी मंगवलबार रातिसम्म मृत्यु हुनेको संख्या १२६ जना पुगेको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ ।
उक्त भूकम्पमा परी १८८ जना घाइते भएका छन् । भूकम्पको इपिसेन्टर रहेको डिंग्री कान्टीको २० किलोमिटर दायराभित्र २७ गाउँ र त्यहाँ ६ हजार ९ सय मानिसहरूको बसोबास रहेको ग्लोबल टाइसम्को समाचारमा उल्लेख छ। डिग्री काउन्टीको जनसंख्या ६१ हजार छ । भूकम्प गएपछि त्यहाँ उद्धारका लागि ३ हजार ४०० सुरक्षाकर्मी र ३४० जना स्वास्थ्यकर्मी परिचालन गरिएको थियो ।
भूकम्पबाट धेरै घरहरू भत्किएको र उद्धारका काम चलिरहेको चिनियाँ सञ्चारमाध्यहरूले जनाएका छन् । बिहान ६ः५० बजे गएको भूकम्प नेपालमा पनि धक्का महसुस भएको थियो ।
काठमाडौं उपत्यका लगायत विभिन्न ठाउँमा मानिसहरू घरबाहिर निस्किएका थिए। काठमाडौंको स्युचाटारमा एक जना पुरूषले घरको छतबाट हामफालेर घाइते भएका छन् । अन्य केही घरहरूमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ।