काठमाडौं । सरकारले सशस्त्र प्रहरी बल नेपालका चारजना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआइजी)को म्याद थप्ने निर्णय गरेको छ ।
गृह मन्त्रालयको प्रस्तावमा ंमंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चार डीआइजीको पदावधि एक वर्ष थप गरेको हो । यसरी म्याद थप हुनेमा डीआइजीहरू शम्भु सुवेदी, कमल गिरी, गणेश ठाडा मगर र कुलबहादुर नेम्वाङ रहेका छन् ।
सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को (ग) अनुसार सशस्त्रका डीआईजीको पदावधि चार वर्षको हुन्छ । २२ पुसमा उनीहरू डीआईजी भएको चार वर्ष पूरा भयो । यो व्यवस्थाअनुसार उनीहरू मंगलबार रातिदेखि नै अनिवार्य अवकाशमा जान लागेका थिए ।
तर, नियमावलीको दफा ६५ कै (ग)को (२) उपनियममा सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) को सिफारिसमा नेपाल सरकारले एआईजी र डीआईजी पदावधि चार वर्षपछि एक वर्ष थप्न सक्ने उल्लेख छ ।