काठमाडौं । आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइन र निर्माणधिन नेपाली फिल्म ‘कुस्ती’बीच ड्रेस पार्टनरका लागि सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमबीच यस्तो सम्झौता भएको हो ।
उक्त सम्झौतामा आईआईएफटीका तर्फबाट आईआईएफटी ललितपुर शाखाकी प्रशासकीय अधिकृत सनी सुब्बा र उर्जा मानन्धर तथा फिल्म ‘कुस्ती’का तर्फबाट निर्देशक अनिल योन्जनले हस्ताक्षर गरेका थिए । यससँगै अब कलाकार बुद्धि तामाङले निर्माण गर्न लागेको फिल्म ‘कुस्ती’को भेषभूषा पार्टनरको रुपमा आइआइएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनर जोडिएको छ ।
सम्झौताअनुसार फिल्मका मुख्य कलाकार धीरज मगर र मिरुना मगरले आइआइएफटीका २४ विद्यार्थीले डिजाइन गर्ने पहिरन लगाउनेछन् । सम्झौतापछि निर्देशक योञ्जनले भने, ‘हामीले आइआइएफटीमा अध्ययनरत विद्यार्थीलाई फेसनको माध्यमले फिल्मसँग जोडेका छौँ । उहाँहरूको नवीनतम सोचले हामीले कल्पना गरेको पात्रलाई मूर्तरुप दिनेमा विश्वस्त छौँ ।’
कलाकारद्वय धीरज र मिरुनाले आइआइएफटीसँग पहिलोपटक सहकार्य गर्न लागेको भन्दै खुसी व्यक्त गरे । उनीहरूले आफ्नो पहिरनबारे विमर्श गर्दै केही पोशाक ट्रायल समेत गरेका थिए । सो अवसरमा निर्देशक योञ्जन र कलाकारद्वयले विद्यार्थीसँग अन्तरक्रियासमेत गरेका थिए ।
अनुषा सिनेमावुड पिक्चर्स प्रालीको ब्यानरमा बन्ने फिल्म ‘कुस्ती’मा सम्बन्धमा रहेको एक जोडीको प्रेमकथा हुनेछ । फिल्म फागुनदेखि छायांकन हुने तयारी छ ।
आईआईएफटीले ‘मिस नेपाल’जस्ता विग इभेन्टका अलावा विभिन्न नेपाली फिल्म र म्युजिक भिडियोहरुका लागि समेत ड्रेस तयार गर्दै आएको छ ।
काठमाडौंको बागबजार प्लाजा, हेरिटेज प्लाजा र ललितपुरको कुमारीपाटीमा रहेको आईआईएफटीले विगत लामो समयदेखि फेसनका विद्यार्थी उत्पादन गर्दै आएको छ । पछिल्लो समय आईआईएफटी देशकै उत्कृष्ट फेसन इन्स्टिच्युटको रुपमा स्थापित हुँदै गएको छ ।