काठमाडौं । सहसचिव रामचन्द्र तिवारीले गृह मन्त्रालय प्रवक्ताको जिम्मेवारी पाएका छन् । सुनसरीको प्रमुख जिल्ला अधिकारीबाट हालै मन्त्रालयमा सरुवा गरिएका तिवारीलाई गृह प्रवक्ताको जिम्मेवारी समेत तोकिएको हो ।
तिवारी मन्त्रालयमा सुरक्षा समन्वय माहाशाखा प्रमुखको जिम्मेवारीमा छन् । मन्त्रालयमा सुरक्षा समन्वय महाशाखा प्रमुखलाई नै प्रवक्ताको जिम्मेवारी दिइने गरिएको छ । उनले अर्को साताबाट जिम्मेवारी सम्हाल्नेछन् ।
सुनसरीको प्रमुख जिल्ला अधिकारीका रूपमा ७ महिना काम गरेका उनले वाणिज्य मन्त्रालयमा दुईपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा र उद्योग विभागको महानिर्देशकका रूपमा पनि काम गरिसका छन् ।
त्यसअघि भने तिवारी गृह मन्त्रालय मातहत नै कार्यरत थिए । यसअघि मुस्ताङ जिल्लाको प्रमुख जिल्ला अधिकारी भइसकेका उनले अध्यागमन विभाग र कारागार व्यवस्थापन विभागको पनि जिम्मेवारी निर्वाह गरिसकेका छन् ।