काठमाडौं । सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला अदालतमा उपस्थित भएकी छन् । मोरङको धनपालथानमा रहेको उमा गौरी कृषि सहकारीको रकम अपचलनमा मुछिएकी कोइराला आज अदालतमा उपस्थित भएकी हुन् ।
सहकारीको पूर्वसञ्चालक सदस्य समेत रहेकी उनीविरुद्ध मोरङ जिल्ला अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन् । सहकारीका अध्यक्ष शम्भु रौनियार, अन्जला, रंगेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । वडाध्यक्ष खवास भने ५ लाख रूपैयाँ धरौटी बुझाएर रिहा भइसकेका छन् ।
सोही प्रकरणमा नाम जोडिएकी कोइराला भने बुधबार बिहान अदालत खुल्ने बितिक्कै हाजिर भएकी हुन् । अब उनको थुनछेक बहस सुरु हुने अदालत स्रोतले जानकारी दियो ।