काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला अदालतमा उपस्थित भएकी छन् । उमागौरी सहकारीको रकम अपचलमा मुछिएकी उनी मुद्दा दर्ता गर्दा फरार थिइन् । उनी आज (बुधबार) बिहान आफैँ अदालतमा हाजिर भएकी हुन् ।
उनी हाजिर भएसँगै बयान गराएर थुनछेक आदेश गर्ने अदालतको तयारी छ । जिल्ला अदालत मोरङका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा उनको बयान र थुनछेक बहस हुने अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलन गरेको आरोप अञ्जलालाई लागेको छ । कोइराला सहकारीको तत्कालीन सञ्चालक समिति सदस्य हुन् ।
अदालतले पुस २ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएपछि फरार रहेकी कोइराला आज बिहान अदालतमा हाजिर भएकी हुन् ।
आज नै बयान र थुनछेक बहस नसकिए प्रहरी हिरासतमा राखिने छ । अदालतको आदेशपछि मात्रै उनलाई पुर्पक्षका लागि कारागार चलान गर्ने वा तारेखमा राख्ने भन्ने टुंगो लाग्नेछ ।