Logo
Logo

ओली-विद्या भेटघाटले एमालेमा तरंग


4.9k
Shares

काठमाडौं । नेपाली राजनीतिमा दीर्घकालीन प्रभाव पार्ने दुई तस्बिर सार्वजनिक भएका छन् । पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटघाट गरेको तस्बिर सार्वजनिक हुँदा एमालेवृत्तमा एक प्रकारको तरङ्ग नै पैदा भयो ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच दुईघण्टासम्म भेट भएको तस्बिर सार्वजनिक भएपछि कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले त एक औपचारिक कार्यक्रममा सर्वोच्च पदमा आसिन भएका व्यक्तिहरू पछाडि नफर्केकै राम्रो भनेर सुझाव समेत दिन भ्याए ।

नेकपा माओवादीको स्थायी कमिटी बैठक र केन्द्रीय कमिटी बैठकमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी भएको तस्बिर सार्वजनिक भयो । सो बैठकमा उनलाई जिम्मेवारी दिने कि नदिने भन्नेमा विवाद उत्पन्न भइरहेको छ । यद्यपि, केन्द्रीय कमिटीको बैठकमा उनलाई उपाध्यक्ष बस्ने कुर्सीमा राखिएको छ ।

नेपालको कम्युनिस्ट इतिहासमा यी दुवै पात्र ऐतिहासिक छन् । दुवैजना कम्युनिष्टका ‘क्यार्डर’ हुन । पार्टीको सिफारिसमा दुई पटक मुलुकको सर्वोच्च पद राष्ट्रपति र उपराष्ट्रपति भैसकेका छन् । उनीहरू दुवै जना यतिबेला पार्टी राजनीतिको ‘स्पेश’ खोज्दै आ–आफ्नो दलका तथा नेताहरूसँग भेटघाट र छलफलमा अभ्यस्त रहेका छन् । त्यही बेला एमाले अध्यक्ष केपी शर्मा ओली बिहीबार पार्टीको सचिवालय बैठकबाट भंगालस्थित पूर्वराष्ट्रपति भण्डारी निवास पुगे, त्यहाँ उनीहरूबिच दुई घण्टा कुराकानी भयो ।

पूर्वराष्ट्रपति विद्या भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पार्टी राजनीतिमा सक्रिय हुने चर्चा चलिरहेको बेला यी दुई तस्वीरले नेपाली राजनीतिको एउटा घट्नाक्रमको पटाक्षेप हुन लागेको देखिन्छ । नेकपा एमालेबाट दुई कार्यकाल राष्ट्रपति बनेकी भण्डारी राजनीतिमा सक्रिय हुने हल्ला चलिरहेका बेला माओवादी केन्द्रले भने पूर्वउपराष्ट्रपति पुनलाई उपाध्यक्ष मनोनयन गर्ने गृहकार्यसहित बैठकमा सहभागी गरायो । माओवादी बैठकमा उनी सहभागी भएपनि एमालेले भने भण्डारीलाई औपचारिक बैठकमा लान चाहेको छैन ।

पूर्वउपराष्ट्रपति पुनलाई पार्टी राजनीतिमा ल्याएर माओवादी केन्द्रले एमालेको राजनीतिमा पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय बनाउने गरी भावानात्मक सन्देश दिइरहेको छ । माओवादी पदाधिकारी बैठकले पुनलाई उपाध्यक्ष बनाउने निर्णय नै गरिसकेको छ । त्यसका लागि पदाधिकारी बैठकले विधान संशोधन गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा महासचिव देवप्रसाद गुरुङ तथा उपमहासचिवहरू वर्षमान पुन र जनार्दन शर्मा सदस्य रहेको कार्यदल बनाएको थियो । आउने केन्द्रीय समितिको बैठकबाट संशोधित विधान पास भएपछि पुन उपाध्यक्षमा मनोनीत हुने माओवादी नेताहरूको दाबी छ ।

गत मंसिर ३० मा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपतिलाई राजनीतिमा ल्याउने गरी धेरै नउकास्न पार्टी पंक्तिलाई आग्रह गरेका थिए । भण्डारीलाई पार्टीले नै राष्ट्रपति बनाएका कारण पार्टीभित्र आवश्यक भए आउन पनि सक्ने भन्दै धेरै उचालिरहनु आवश्यक नभएको बताएका थिए । तर भण्डारी स्वयंले भने राजनीतिमा आउने÷नआउने भन्ने बारेमा औपचारिक धारणा सार्वजनिक गरेकी छैनन् । गत साता ओलीसँगको भेटघाटमा उनले राजनीतिमा आउने इच्छा जाहेर गरेकी भएपनि त्यसलाई एमाले पंक्तिले सार्वजनिक गर्न चाहेको छैन ।

ओलीले पनि राजनीतिमा सक्रिय हुने कि नहुने उनीसँगै सम्बन्धित विषय भएकाले कसैले हल्ला चलाएको वा सक्रियताका लागि आग्रह गरेकै भरमा भण्डारी राजनीतिमा सक्रिय नहुने बताउँदै आएका छन् । यद्यपि, ओलीले भण्डारी राजनीतिमा आउन चाहे एमालेले सोच्न सक्ने पनि बताउँदै आएका छन् । एमाले महासचिव शंकर पोखरेलले भण्डारी राजनीतिमा आए स्वागत गरिने बताएका छन् । एमाले पंक्ति सकारात्मक देखिँदै गएको आभास हुन्छ ।

अध्यक्ष केपी ओलीले नै गत वैशाख ९ मा ललितपुरको गोदावरीमा आयोजित पार्टी स्थापना दिवस र अर्को एक सार्वजनिक कार्यक्रममा भण्डारीले पार्टीभित्र सक्रिय भएर योगदान दिन सक्ने संकेत दिएका थिए । त्यही समारोहमा पार्टीका तर्फबाट उनलाई ‘गणतन्त्र गौरव’ले सम्मानसमेत गरिएको थियो । यो सम्मानलाई पार्टीपंक्तिले दुईवटा अर्थमा लिएको थियो ।

केहीले गणतन्त्र गौरवले सम्मान गरेपछि पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा आउन अघोषित रूपमा बन्देज गरिएको अर्थमा लिएका थिए । केहीले भने पार्टी कार्यक्रममा सहभागी गराएर सक्रिय राजनीतिको ढोका खोलेको अर्थमा बुझेका थिए । त्यसयता पूर्वराष्ट्रपति भण्डारी पार्टीका केही खास कार्यक्रममा सहभागी भएकी छन् । २०८१ जेठ १५ गते पूर्वराष्ट्रपति भण्डारी पार्टीको औपचारिक कार्यक्रममा सहभागी भएकी थिइन् ।

एमालेको महिला भेलामा पूर्वराष्ट्रपति भण्डारी प्रमुख अतिथि बनेकी छन् । सो भेलामा एमाले अध्यक्ष ओली विशेष वक्ताका रूपमा सहभागी भए । अध्यक्ष निर्वाचित भएपछि एमालेकै कार्यक्रममा ओली विशेष अतिथि बन्नुपरेको सम्भवतः त्यो पहिलो कार्यक्रम थियो ।

उक्त भेलाको आयोजना एमाले जनसंगठन समन्वय संयन्त्रले गरेको थियो । उनकै नेतृत्वमा संसद्बाट ३३ प्रतिशत महिला सहभागितासम्बन्धी विशेष प्रस्ताव पास भएर अन्तरिम संविधानमै अधिकार सुनिश्चित भएपछि एमालेले यसलाई आफ्नो एजेन्डाका रूपमा अघि सारिरहेको छ ।

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कने संकेतका रूपमा उनको राजनीतिक र सामाजिक कार्यक्रममा देखिएको सक्रियतालाई लिन सकिन्छ । त्यसबाहेक वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निवासमा केही महिला नेतृहरूसहित बहुसंख्यक पदाधिकारीहरूको बाक्लो आवतजावत र संवाद तथा जिल्ला नेतृत्व तहका नेताहरूको निरन्तर भेटघाटले भण्डारीलाई उत्प्रेरित गरिरहेको पाइन्छ ।

अध्यक्ष ओलीपछि दोस्रो पुस्तामा चुनावी प्रतिस्पर्धाबाहेक सर्वसम्मत नेतृत्व हस्तान्तरण सहज नभएको कारण देखाएर उनलाई पार्टी कमिटीमा सक्रिय बनाउन खोजिएको छ । त्यसबाहेक विभाजित पार्टी नेकपा एकीकृत समाजवादी (नेकपा एस) लाई एकतामा ल्याउनेदेखि वाम ध्रुवीकरणका सहजीकरण हुने केही नेताहरूको बुझाइका कारण पनि उनलाई राजनीतिप्रति रुचि जगाउँदै लगिएको एमालेका नेताहरूको दाबी छ । पूर्वराष्ट्रपति भण्डारीले यो विषयमा औपचारिक धारणा सार्वजनिक नगरे पनि उनलाई पार्टी पंक्तिमा सक्रिय भएको देख्न चाहने राजनीतिमा सक्रिय हुने धारणा सार्वजनिक गर्न थालेका छन् ।

गत भदौ ८ मा आयोजित युथ कन्क्लेभ–२०२४ समारोहका सहभागीको प्रश्नको जबाफ दिँदै प्रधानमन्त्री ओलीले महिलालाई प्रधानमन्त्री बनाउने घोषणा गरेका थिए । आफ्नो पालामा महिला राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश, रक्षामन्त्री र मुख्यसचिव बनाएको भन्दै ओलीले महिला प्रधानमन्त्री बन्न सक्ने धारणा राखेका थिए ।

२०७२ असोज ३ मा संविधान जारी भएपछि कात्तिक ११ गते नेपालको पहिलो महिला राष्ट्रपति निर्वाचित भण्डारीले अघिल्लो कार्यकाल दुई वर्ष चार महिना बिताएकी थिइन् । २०७४ सालको निर्वाचनपछि वाम गठबन्धनका तर्फबाट एमालेले उनै भण्डारीलाई पछिल्लो कार्यकालका लागिसमेत उम्मेदवार बनाएपछि २०७४ फागुन २९ बाट निर्वाचित राष्ट्रपतिका रूपमा २०७९ फागुन २८ गते पाँचवर्षे कार्यकाल पूरा गरेकी थिइन ।

राष्ट्रपतिबाट बिदा भएपछि आफ्नै निवासमा केही सञ्चारकर्मी र पार्टीका कार्यकर्ताहरूलाई बोलाएर राजनीतिक रुचिको विषयमा हलुका छलफल चलाएकी थिइन् । त्यति मात्र होइन, उनी राष्ट्रपति भवनबाट बाहिर आएपछि २०८० असार १४ गते मदन भण्डारीको जन्मजयन्ती मनाउन मदन भण्डारी फाउन्डेसनलाई सक्रिय बनाइएको थियो । मदन भण्डारीको जन्म दिन मनाउन र स्मृति दिवस मनाउन त्यसअघि पनि फाउन्डेसन सक्रिय थियो तर गत अलि विशेष बनाइएको थियो ।

मदन भण्डारीको ७२औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले राष्ट्रिय सभागृहमा गरेको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारी प्रमुख अतिथि बनिन् । फाउन्डेसनकै संरक्षक एवं एमाले अध्यक्ष केपी शर्मा ओली विशेष अतिथि रहेको उक्त कार्यक्रममा मदनको योगदानबारे चर्चा मात्रै नगरेर पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक सन्देशसमेत दिएकी थिइन ।

२०७२ कात्तिक ११ मा राष्ट्रपति बनेपछि भण्डारी राजनीतिक प्रकृतिका कार्यक्रमहरूबाट अलग भएकी थिइन् । गत २९ फागुनमा राष्ट्रपतिको दोस्रो कार्यकालसमेत सकिएपछि भण्डारी पहिलो पटक फाउन्डेसनको ब्यानरमा सार्वजनिक सहभागी भइन् । उनी फाउन्डेसनको कुनै औपचारिक पदमा थिइनन् ।

प्रतिक्रिया दिनुहोस्