काठमाडौं । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा सुरक्षा व्यवस्था कडा पारेको छ । सूर्यदर्शन सहकारी प्रकरणको थुनछेक बहस अन्तिम चरणमा पुगेका बेला कास्की प्रशासनले राष्ट्र बैंक चोक, वाइचोक, सहिद चोक क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको हो । ती क्षेत्रमा सवारीसाधन चल्न रोक लगाइएको छ ।
अदालतको आदेश आउने दिन हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । प्रशासनले मंगलबारदेखि नै प्रशासन, अदालत क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।
सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा प्रतिवादीमाथिको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी छ । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, लिला पछाईंको बहस सकिएको छ ।
अब रामबहादुर खनाल, कृष्ण गुरुङ, मीना गुरुङ र आरती गुरुङका कानून व्यवसायीको थुनछेक बहसमात्र बाँकी छ । सबैको बहस सकिएपछि अदालतले शुक्रबारभित्र आदेश दिइसक्ने सम्भावना छ । यस्तो स्थितिमा रास्वपाका समर्थकहरूको बाक्लो उपस्थिति रहने आकलन सुरक्षाकर्मीको छ । यता, सहकारीपीडित पनि प्रदर्शनमा उत्रिन सक्ने आकलन गरिएको छ ।