काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय गौरवका आयोजनाहरू निर्माणका लागि सरकारसँग प्रविधियुक्त जनशक्तिको अभाव रहेको बताएका छन् ।
बुधबारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले आवश्यक इन्जिनियर नहुँदा पनि गौरवका योजनाहरू अघि बढ्न नसकेको उल्लेख गरे । उनले पछिल्लो समय क्रिकेटमा बढेको लोकप्रियताले खेलेर पनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश प्रवाहित भएको बताए । उनले खेलकुदलाई अब आर्थिक आर्जन र खेल पर्यटनसँग जोड्नुपर्ने बताए । सरकारले अहिले पूर्वाधार अघि बढाउने प्रयास गरिरहेको र श्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा पठाइएको उनले बताए ।
उनले भने, ‘नेपाल सरकारसँग आयोजना बनाउने मान्छेहरू पनि कम छ एउटा, यसमा ठुलो लागत हुने बित्तिकै विदेशबाट कम्पनीहरू पनि आउने चलन छ । नेपालमा अलिकति कम नै काम गर्ने मान्छेहरू देखिन्छ । त्यही पनि नेपाली ठेकेदारहरू पनि केही स्टेन्थहरु भइरहेको छ । अर्को हाम्रो समस्या भनेको हामीसँग खेलकुद मन्त्रालयअन्तर्गत प्रशस्त इन्जिनियरहरू छैनन् । राष्ट्रिय खेलकुद परिषद्मा पनि धेरै इन्जिनियरहरू छैन । करारमा लिएर सञ्चालन गर्ने हो । इन्जिनियरहरूको ठुलो अभाव छ । यसको सबैभन्दा ठुलो चुनौती भनेको राष्ट्रिय गौरवका योजनाको हो ।’
मन्त्री चौधरीले खेलकुद मन्त्रालयमा जम्मा ३ अर्ब ५० करोड रुपैयाँ बजेट रहेको र यो पर्याप्त नभएको बताए । मन्त्रालयलाई प्राप्त बजेटबाट एक अर्ब ३२ करोड रुपैयाँ पुँजीगत खर्च रहेको बताए । त्यसमा ५० करोड रुपैयाँ एउटै मुलपानीमा र ६० करोड रुपैयाँ १० औँ खेलकुदका लागि छुट्याएको बताए । बाँकी २० करोड रुपैयाँ कीर्तिपुर रंगशालाका लागि छुट्याइएको बताए । त्यसमध्येको ठुलो योजना कीर्तिपुर क्रिकेट मैदान श्रोत सुनिश्चितता नहुँदा अर्थ मन्त्रालयमा एक हप्तादेखि अड्किएर बसेको उनले जानकारी दिए ।
मन्त्री चौधरीले काठमाडौँभित्र थप एउटा फुटबल रंगशाला, क्रिकेट रंगशाला र भलिबल कभर्ड हल आवश्यक रहेको बताए । उनले फुटबल मैदानका लागि काठमाडौँभित्र जग्गा हेर्न थालेको दुई महिना भइसक्दा पनि पाउन नसकेको उल्लेख गरे । उनले खेलकुदका लागि नीतिहरू बाधक बन्दा मित्र राष्ट्रहरूले सहयोग गर्छु भनेको रकम पनि ल्याउन नसकिरहेको बताए ।
मन्त्री चौधरीले सबै रंगशालाहरु व्यवस्थित तरिकाले सञ्चालन गर्नका लागि २५ अर्ब रुपैयाँ आगामी वर्षको बजेटमा आवश्यक पर्ने बताए । आर्थिक र पर्यटनकीय दृष्टिकोणबाट खेलकुद मन्त्रालयलाई अघि बढाउनुपर्ने उनले बताए ।