एजेन्सी । बलात्कारको बदला लिन आफ्नो बुबालाई आगो लगाएर मारेको आरोपमा पाकिस्तानमा दुईजना किशोर उमेरका दिदीबहिनीलाई प्रहरीले पक्राउ गरेको सञ्चारमाध्यमहरुले बुधबार जनाएका छन् ।
पञ्जाबको गुजराँवाला शहरमा यही जनवरी १ मा बाबुलाई आगो लगाएपछि उपचारका लागि उनलाई अस्पताल लगिएको थियो । उपचारकै क्रममा अस्पतालमा उनको मङ्गलवार उनको मृत्यु भयो।
‘ती किशोरीले आफूहरूबीच बलात्कारको स्थायी समाधान गर्ने निर्णय गरेको बताए’, गुजराँवालाका वरिष्ठ प्रहरी अधिकारी रिजवान तारिकले भने, ‘त्यसपछि उनीहरूले मोटरसाइकलबाट पेट्रोल निकाले र सुतिरहेका बाबुमाथि पेट्रोल छर्केर आगो लगाइदिए ।’
सौतेनी दिदीबहिनी रहेका उनीहरूले एक वर्षदेखि बाबुले जेठी छोरीको बलात्कार गर्दै आएको र कान्छी छोरीलाई पनि दुईपटक बलात्कार गर्न दुष्प्रयास गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।
उनीहरूका आमाहरूलाई छोरीहरुमाथि भइरहेको दुर्व्यवहारको जानकारी थियो तर छोरीहरुले आफूहरुमाथि भइरहेको अन्यायको बदला लिन बनाएको योजनाबारे थाहा पाएका थिएनन् । ती किशोरीहरुका दुवै आमा सौता रहेको र दुवैजना तिनै पुरुषसँग विवाहित हुन् ।
किशोरीहरूको पहिचान गोप्य राख्न सञ्चारमाध्यमहरुले ती बाबुको परिचय पनि उल्लेख गरेको छैन । दुवै पत्नीहरूमध्ये एकजनालाई पनि पक्राउ गरिएको छ भने अर्कीसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।