Logo
Logo

शेरा दरबारको जग्गा कसरी पुग्यो व्यक्तिको नाममा ?


882
Shares


काठमाडौं । नुवाकोटको ऐतिहासिक शेरा दरबार र त्यसले चर्चेको १ सय ६४ रोपनी जग्गा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का पूर्वस्वकीय सचिवले अन्नपूर्ण फार्मिङको नाममा भोगचलन गर्दै आएपछि विवादमा आएको छ । पूर्वकेन्द्रीय सदस्यसमेत रहेका विकेश श्रेष्ठले एक दशकअघि नै माओवादी छाडिसकेका छन् । उनको नाममा रहेको जग्गालाई सरकारले फिर्ता ल्याउने प्रक्रिया थालेको

सरकारले त्यो जग्गामा रहेको भग्नावशेष दरबारलाई पुनर्निर्माण गर्ने र पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने गरी तयारीसमेत गरेको छ । यद्यपि, जग्गा सरकारको नाममा नआएसम्म दरबार पुनर्निर्माण गर्ने वा अन्य कुनै प्रयोजनमा प्रयोग गर्ने सम्भावना छैन ।

नुवाकोट मालपोत कार्यालयले दिएको जानकारीअनुसार १६४ रोपनी जग्गा सरकारको नाममा ल्याउने विधि र प्रक्रिया अघि बढेको छ । तर, जग्गा कहिलेसम्म नेपाल सरकारको नाममा आउँछ भन्ने टुङ्गो लागेको छैन ।

नुवाकोटको विदुर नगरपालिका–२ स्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी ४ आना १ पैसामध्ये १६४ रोपनी १३ आना २ दाम जग्गा हिनामिना भएकाले सरकारका नाममा ल्याउन सीआइबीले सरकारलाई पत्राचार गरेको छ । त्यस्तै सार्वजनिक जग्गा गैरकानुनी रूपमा कम्पनीमा सार्ने समूहमाथि कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि सिआइबीले पत्र लेखेको छ ।

द्वन्द्वकालमा माओवादीले र पार्टी विभाजनपछि २०६९ मा वैद्य तथा त्यसपछि चन्द समूहले यो दरबारमा झन्डा गाडेर कब्जा गरेको दाबी गर्दै आएका थिए । २०७२ पछि उक्त जग्गा श्रेष्ठको स्वामित्वमा सारिएको हो । अहिले त्यहाँ पुरातात्विक महत्वका कुनै पनि भवन र संरचना छैनन् ।

शेरा दरबारको अवस्था
नुवाकोटको विदुर नगरपालिका २ शेरास्थित शेरा(रानी)को दरबार विसं.२०३५ सालमा नापी हुदाँ उक्त दरबारसहित दरबार र त्यसआसपासका सरकारी जग्गाहरू गौरीशंकर कृषि फार्मिङ प्रालीको नाममा दर्ता कायम भएर त्यसको ब्यावसायिक कारोबार भइरहेको थियो । त्यसअघि ऐतिहासिक शेरा दरबार विसं. २००० मा तत्कालीन प्रधानमन्त्री जुद्धसमशेर राणाले पुनर्निर्माण गर्न लगाएका थिए ।

उक्त दरबार प्रजातन्त्रको स्थापना पश्चात् सरकारले नै प्राप्ति गरेको थियो । जुद्धशमसेरपछि सरकारको नाममा रहेको जग्गा पछि राजा महेन्द्रको भाई बसुन्धराको श्रीमती हेलेन शाह (उनी जुद्ध शम्शेरको नातिनी पर्ने)ले भोगाचलन गर्दै आएका थिए ।

विसं.२०३५ सालमा सरकारले खटाएको नापी टोलीबाट दरबारसहित दरबार आसपासका सरकारी जग्गाहरू समेत नापी किताबमा उल्लेख गरेर गौरीशंकर फार्मिङ प्रालीको नाममा कायम भएको ‘जग्गा दर्ता श्रेस्ता’ कितामा उल्लेख गरिएको छ । उक्त दरबारले चर्चेको र आसपासको बगैचाँ सहितको ७५ रोपनी जग्गासहित सरकारी जग्गा कायम रहेको र त्यसको साँधसिमाका थप केही जग्गा २०३५ सालअघि नै हेलेन शाहले स्थानीयबाट खरिद गरेको भन्ने पाइएको छ ।

ती सबै जग्गासमेत गरेर कुल १६४ रोपनी १३ आना ३ पैसा १ दाम क्षेत्रफल रहेको (आलिकान्लासहित १७५ रोपनी ८ आना २ दाम) जग्गा विसं.२०३५ सालमा नापी हुँदा गौरीशंकर फार्मिङ प्रालीको नाममा कायम गरेको र सोही जग्गाको दर्ता श्रेस्तामा विस २०४४ साल असार ११ को निर्णयअनुसार उक्त प्रालीको सट्टामा अन्नपूर्ण फार्मिङ प्राली कायम गरेको भनेर २०४४ असार १८ को मितिमा उल्लेख गरिएको छ ।

उक्त अन्नपूर्ण फार्मिङ प्रालीको नाममा कायम भएको ती जग्गा विदुर नगरपालिका २ स्थित कित्ता ८२, ८३, ८४, ८७, ८८, ८९, ९०, ९२, ९३, ९४, ९५,९७ र ९८ गरेर १३ वटा कित्तामा रहेका अन्नपूर्ण फार्मिङ प्रालीको नामबाट उक्त प्रालीको खरिद बिक्री भएर रानीको दरबारको रूपमा रहेको जग्गाहरूको प्रालीसगैँ कारोबार भएको पाइएको छ ।

उक्त दरबार सहितको फार्मिङ कम्पनीको नाममा बनाइएको जग्गा आवादी ३ कित्ता मात्र रहेको छ भने प्रति (सरकार) जग्गा ५ कित्ता, ३ कित्ता जग्गा पोखरी, १ कित्ता जग्गा केरा र १ कित्तामा बगैँचा रहेको जग्गाधनी श्रेष्ता किताबमा नै उल्लेख छ । प्रति, पोखरी, केरा र बगैँचा भएका जग्गा स्वतः सरकारी जग्गा हुने भए पनि ती जग्गासमेत फार्मिङ प्रालीको नाममा नापी भएको पाइएको छ ।

उक्त स्थानमा नै रानीको दरबारको रूपमा चर्चिएको जग्गा कित्ता ७९, ८० र ८१ (८१ नं. को कित्ता टुक्राएर हाल १७५२ र १७५३) बनाइएको छ भने हेलेन शाहबाट बट्टार निवासी रजनी श्रेष्ठ र वर्षा बस्नेत (चित्रकार)को संयुक्त नाममा करीब २० रोपनी जग्ग्गा बिक्री गरेको पाइएको छ ।

उक्त जग्गाधनीहरूले ८१ नं. को कित्ता टुक्राएर वर्षा बस्नेतको दाइ तादी गाउँपालिका नर्जामण्डप निवासी हाल काठमाडौँ बस्ने बसन्तबहादुर बस्नेतलाई मिति २०८० माघ १५ गते ९ आना जग्गा रु पाच लाखमा बिक्री गरेको पाइएको छ । ८१ नं को कित्ताबाट टुक्राएपछि बाँकी ६ रोपनी जग्गा बट्टार निवासी रजनी श्रेष्ठ र वर्षा बस्नेत (चित्रकार)को सयुक्त नाममा किता नं. १७५३ बनाएर राखिएको छ ।

उक्त जग्गा खरिद गर्ने बसन्तबहादुर बस्नेत कानून व्यवसायी हुन् । कित्ता नं. ७९, ८० र ८१ मा रहेका जग्गामा हेलेन शाहले बस्न बनाएको सुविधासम्पन्न आवासीय १० कोठामा रहेका एकतले संरचनामा रहेका कोठा, दरबार सुरक्षार्थ नेपाली सेना बस्ने विसं. २०२८ सालमा बनाएको सैनिक आवास ब्यारेकका पाँच कोठा, गाडी राख्न बनाएको ग्यारेज सहितको संरचना रहेकाले ती केही प्रयोगमा रहेको र केही जीर्ण बनाइएको देखिएको छ ।

रानीको दरबारको रूपमा परिचित उक्त शेरा दरबारलाई विसं. २०५९ पुस १२ गते नेकपा माओवादीले आगो लगाएर क्षति पुराइदिएका थिए । माओवादीले उक्त दरबारमा आगो लगाउने समयमा दरबार रेखदेखको लागि स्थानीय ज्ञानकुमार डंगोलको परिवार दरबारभित्र बस्दै आएको र आगलागीबाट उनीहरूको सबै धनसम्पत्तिसहित दरबारमा क्षति पुगेको थियो । उक्त दरबार त्यसपश्चात हाल भग्नावशेष अवस्थामा छ ।

दरबारबारे केही तथ्य
शेरा दरबारलाई नेपाल एकीकरणको समयमा नुवाकोटको साततले दरबार बनाएपछि ग्रीष्मकालीन दरबारको रूपमा बनाएको र उक्त दरबारमा गर्मीको समयमा रानी बसोबास गरेकाले रानीको दरबार भन्ने गरिएको थियो । इतिहास जोडिएका केही तथ्यहरूमा ती कुरा उल्लेख छ । उक्त दरबारमा पछि विभिन्न कारणले क्षति पुगेपछि त्यसको जानकारी पाए पश्चात् जुद्ध सम्मशेरले पुनर्निर्माण गर्न लगाएको बताइन्छ ।

दरबार भएको र आसपासका १८१ रोपनी भनिएको तर नाप जाँचमा १७५–८–०–२ क्षेत्रफल देखिएको जग्गा विसं. २०४९ सालमा (दरबार क्षति हुनुपूर्व) छाउनी, काठमाडौँ निवासी बाघबहादुर श्रेष्ठले उक्त कृषि प्राली खरिद गरेको देखिन्छ । त्यसपश्चात उक्त दरबारसहित जग्गाको भोगचलन बाघबहादुरका छोरा केदार श्रेष्ठ र ज्वाई नरेन्द्र प्रधानले गर्ने गरेको देखिन्छ । उनीहरूले नै उक्त दरबार हेरचाह आसपासको जग्गामा खेती किसानी गर्न हेरालु राखेको, उत्पादित कृषि उब्जनी काठमाडौँ लैजाने गरेको बताइन्छ ।

दरबार क्षति हुँदाको बखत विस २०५९ पुस १२ मा दरबारमा आगजनीको समयमा हेरालु विदुर–२ निवासी ज्ञानकुमार डंगोलको परिवार बसोबास गरेको र त्यसपश्चात उनीहरूको सबै सम्पत्ति दरबारसगैँ जलेको, उनीहरू त्यहाँबाट बट्टार विस्थापित भएको र सोसगैँ जीर्ण भएको दरबार भग्नावशेषमा पुगेको, आसपासका जग्गाहरू बाँझो रहँदै आएको थियो ।

शेरा दरबार र उक्त स्थानमा पर्ने कित्ता नं ७९, ८० र ८१ मा कायम रहेको २० रोपनी जग्गा खरिद गर्ने रजनी श्रेष्ठको श्रीमान धुव्र श्रेष्ठले २०६४ मा उक्त जग्गा खरिद गरेको र बाँकी दरबार सहितको जग्गा खरिद गर्न नमिलेपछि विकेश श्रेष्ठसँग अन्नपूर्ण फार्मिङ प्रालीमा धुव्र श्रेष्ठको तर्फबाट शेयर रहेको बुझिएको छ । उक्त दरबार सहितमा पर्ने जग्गाहरू आफ्नो पक्षमा ल्याउन ध्रुव्र श्रेष्ठ, वर्षा बस्नेत (चित्रकार)को ससुरा बा धननारायण चित्रकार सहितको समूह अहिले पनि सक्रिय रूपमा लागिरहेको बताइन्छ ।

जग्गा फिर्ता ल्याउन प्रचण्डको माग
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शेरा दरबारको जग्गाबारे कानूनविपरीत काम भएको भए सरकारको नाममा फिर्ता ल्याउन माग गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एमालेका सांसद वासुदेव घिमिरेले गृहमन्त्री रमेश लेखकलाई शेरा दरबारको जग्गाबारे सोधेका थिए । त्यही क्रममा प्रचण्डले दरबार र दरबारले चर्चेको जग्गा फिर्ता ल्याउन माग गरेका हुन् ।

सांसद घिमिरेको गृहमन्त्रीलाई प्रश्न गरे, ‘शेरा दरबारमा भएको के हो ? यसबारेको अध्ययन के भएको छ ?’ बैठकमा सहभागी प्रचण्डले भने, ‘शेरा दरबारको जग्गाबारे कानून विपरीत काम भएको छ भने फिर्ता ल्याइयोस्, म सरकारलाई धन्यवाद भन्छु । शेरा दरबारमा दोषीलाई कारबाहीको दायरामा ल्याइयोस् ।’

उनले राज्य र सरकारको जमिन व्यक्तिको नाममा ल्याउनेलाई कानूनी कारबाही गर्नुपर्छ भनेर आफूले भन्दै आएको बताए । उनले भने, ‘राज्यको जमिन व्यक्तिको नाममा गएको छ भने कानुनबमोजिम ल्याउनुपर्छ । छानबिन गर्दै जाँदा प्रचण्ड नै देखिएको छ भने पनि छानबिनको दायरामा ल्याउँ । ललितानिवास जस्तै शेरा दरबारको जग्गा पनि कानुनविपरीत भए सरकारको नाममा फिर्ता ल्याउनपर्छ । म यस प्रक्रियामा सहयोग गर्छु, र धन्यवाद पनि भन्छु ।’

प्रतिक्रिया दिनुहोस्