काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बाघ र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ब्वाँसोको संज्ञा दिएका छन् । भट्टराईले दुवै पार्टीको सम्पन्न केन्द्रीय कमिटी बैठकलाई तुलना गर्दै ओली अलि बढी खुला र प्रष्ट भएको र प्रचण्ड सदा झैँ कुटिल र छद्म रहेको टिप्पणी गरेका हुन् ।
एमाले र माओवादी केन्द्रीय कमिटी बैठक आइतबार सुरू भएर मंगलबार सकिएको थियो । एमालेले राजनीतिक र सांगठनिक प्रतिवेदन आइतबार नै सार्वजनिक गर्यो भने माओवादी केन्द्रले राजनीतिक प्रतिवेदन पारित भए पनि अहिलेसम्म सार्वजनिक गरेको छैन । सोही विषयलाई लिएर पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ओली बाघ र प्रचण्ड ब्वाँसो प्रवृतिको भएको विश्लेषण गरेका हुन् ।
‘ओली र प्रचण्डका कम्युनिष्ट पार्टीहरूको हालैको बैठकको तुलनात्मक दृश्य र प्रवृत्ति हेर्दा ब्रेज्नेभ कालको रूसी पार्टीको झल्को आयो–बाहिरी रूप समाजवादी भित्री सार नोकरशाही पुँजीवादी,’ उनले भनेका छन्, ‘बरू ओली अलि बढी खुला र प्रष्ट। प्रचण्ड सदा झैं कुटील र छद्म। खासगरी नेपालको जटील भूराजनीति र शक्तिकेन्द्रहरूको चलखेलको सन्दर्भमा र क्रान्तिकारी लफ्फाजीको प्रयोगमा। बाघ भर्सेज ब्वाँसो ? नेपाल र रूसको नियति फरक होला ?’
साथै उनले नेपालको जटिल भूराजनीतिक सन्दर्भ केलाउँदै नेपाल र रूसको नियति फरक होला ? भन्दै प्रश्न समेत गरेका छन् ।