Logo
Logo

रविको मुद्दामा आज थुनछेक आदेश आउन सक्ने, अदालत आसपास कडा सुरक्षा


2.5k
Shares

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज (बिहीबार)सम्म थुनछेक आदेश आउने सम्भावना बढेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामछानेसहित प्रतिवादीतर्फको बहस अन्तिम चरणमा पुगेकाले आज जवाफी बहस सकेर थुनछेक आदेश आउने सम्भावना बढेको हो ।

सरकारी वकिल कार्यालय कास्कीका प्रमुख न्यायाधिवक्ता कमला काफ्लेले पनि आज साँझसम्म अदालतबाट थुनछेक आदेश आउने अपेक्षा गरिएको बताए । कान्छा न्यायाधीश नितिज राईको इजलासमा भइरहेको बहस सकिएपछि थुनछेक आदेश आउने छ । थुनछेकमा अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्नेमध्ये एक आदेश गर्नसक्छ ।

पुर्पक्षका लागि कारागार पठाउने आदेश भएमा रवि आज नै जेल चलान हुनेछन् भने अन्य आदेशमा बाहिरै बसेर मुद्दा लड्न सक्नेछन् । अदालतको आदेश आउने दिन रास्वपा समर्थक र सहकारी पीडित आमनेसामने हुने सम्भावना बढ्दो छ । यस्तो अवस्थामा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा सुरक्षा व्यवस्था कडा पारेको छ ।

कास्की प्रशासनले राष्ट्र बैंक चोक, वाइचोक, सहिद चोक क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको हो । ती क्षेत्रमा सवारीसाधन चल्न रोक लगाइएको छ । प्रशासनले मंगलबारदेखि नै प्रशासन, अदालत क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्