विराटनगर । नेकपा एमाले नेता एवं संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् । उनलाई आज बिहान प्रहरीले जिल्ला प्रहरी कार्यालय नजिकैबाट पक्राउ गरेको हो ।
मोरङको रंगेली नगरपालिका–२ का ४३ वर्षीय अनिल नेकपा एमाले मोरङ जिल्ला सदस्य हुन् । प्रहरी नियन्त्रणमा रहेका अनिलमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
एबीबीबीएस पढ्न छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइबर कृष्णासवरन गाउँपालिका– ५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ घुस लिएको उनीमाथि आरोप छ ।
ठगी प्रकरणमा मुछिएपछि एमाले नेता एवं सभापति पोखरेलले आफ्ना स्वकीय सचिव अनिललाई जिम्मेवारीबाट हटाएका थिए ।
ऋषिकेश पत्नी अन्जला कोइरालामाथि सहकारी ठगीको आरोप छ । गत २७ मंसिरमा मुद्दा दर्ता भएपछि फरार रहेकी उनी बुधबार अदालतमा हाजिर भएकी थिइन् । बुधबार नै अदालतको आदेशपछि १० लाख धरौटी बुझाएर उनी छुटेकी छन् ।